
काठमाडौं । नेपाली महिला श्रमिक अबदेखि सप्लाई र कन्ट्राक्टिङ कम्पनीमा काम गर्न साउदी अरबमा जान नपाउने भएका छन् ।
साउदी अरबस्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै यी दुई खालका कम्पनीमा नयाँ महिला श्रमिक लैजान दिने गरी मागपत्र प्रमाणीकरण नगर्ने भएसँगै महिला ती कम्पनीमा काम गर्न जान नपाउने भएका हुन् ।
दूतावासको सूचना अनुसार वैदेशिक रोजगारीको लागि साउदी अरब आएका कैंयौं नेपाली महिलाले पाउनुपर्ने पारिश्रमिक नपाएको, आवास सुविधा मानवीय नभएको लगायतका विषयमा बारम्बार गुनासो आएपछि दूतावासले हालै साउदी अरबका विभिन्न स्थानमा पुगेर नेपाली महिला कामदारको सर्वेक्षण गरेको थियो ।
दूतवासले सर्वेक्षणका क्रममा भेटिएका प्रायः सबै महिला श्रमिक सप्लाई र कन्ट्राक्टिङ कम्पनीमा आएको र उनीहरू समस्यामा परेको पाइएपछि अब यस्ता कम्पनीमा श्रमिक आपूर्तिका लागि म्यानपावरले पेश गर्ने मागपत्र प्रमाणीकरण रोक्ने निर्णय भएको दूतावासले जनाएको छ ।
श्रमिक सर्वेक्षणपछि पनि थप स्थानबाट महिला श्रमिकका गुनासा आइरहेको हुनाले हाललाई यस्ता कम्पनीमा नेपाली महिला श्रमिक ल्याउने सम्बन्धी मागपत्रहरु प्रमाणीकरण गर्ने कार्य स्थगित गरिएको जानकारी दिइएको छ ।
दूतावासको सर्वेक्षणका क्रममा कार्यरत महिलाले पारिश्रमिक कम पाएको, समयमा महिलासम्बन्धी रोगको औषधोपचार नपाएको, वीमा नगरेको, विभिन्न वहानामा अन्यत्र काममा लगाउने गरेको, मागपत्रभन्दा बाहिर गएर तीन वर्षको करार गरेको, व्यवस्थापन वा सुपरभाइजरसँग गुनासो राख्दा नसुन्ने एवम् धम्क्याउने गरेको, गुनासोको निवेदन दिँदा नलिएको लगायतको गुनासो आएको दूतावासले जनाएको छ ।
दूतावासका अनुसार सो क्रममा भेटिएका महिलाले पोशाक चाहिने कामका लागि पोशाक व्यवस्था नगरेको, बजार जाँदा राहदानी साथमा लान नदिएको, आवासमै भएको पसलमा महंगोमा समान खरीद गर्न बाध्य बनाएको लगायतका गुनासो आएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको हो ।
प्रतिक्रिया दिनुहोस