
एजेन्सी । भारत सरकारले ६ वर्षमा पहिलो पटक चिनी निकासी रोक्ने तयारी गरेको छ । सरकारले आन्तरिक मूल्यमा उकालो लाग्न नदिन यस्तो गरेको हो । ब्लूमबर्गको प्रतिवेदनका अनुसार सरकारले निर्यातलाई १ करोड टनमा सीमित गर्न सक्ने समाचारमा उल्लेख गरेको छ । भारत विश्वको सबैभन्दा ठूलो चिनी उत्पादक र ब्राजिलपछि दोस्रो ठूलो निर्यातकर्ता हो। यसका शीर्ष ग्राहकहरूमा बंगलादेश, इन्डोनेसिया, मलेसिया र दुबई सामेल छन्।
यो खबरपछि चिनीसँग सम्बन्धित अधिकांश शेयरमा गिरावट आएको छ । रेणुका सुगरको शेयर करिब १४ प्रतिशत र बलरामपुर चिनीको करिब १० प्रतिशतले घटेको छ । अधिकांश चिनीको स्टक ५ प्रतिशतले घटेर बन्द भएको छ ।
युक्रेनमा रुसको आक्रमणपछि खाद्यान्नको मूल्य आकाशिएको छ र विश्वभरका सरकारले आफ्नो देशमा अत्यावश्यक वस्तुको मूल्य बढ्न नदिन यी वस्तुको निर्यातमा प्रतिबन्ध लगाएका छन् । मलेसियाले असार १ गतेदेखि कुखुराको निर्यात बन्द गर्ने भएको छ । इन्डोनेसियाले हालै पाम तेलमा अस्थायी रूपमा प्रतिबन्ध लगाएको छ। भारतले पनि गहुँ निकासीमा प्रतिबन्ध लगाएको छ । सर्बिया र काजाकिस्तानले अन्न ढुवानीमा कोटा लगाएका छन्।
चिनी निकासीमा प्रतिबन्ध लगाउने सरकारको योजना निकै सावधानीपूर्ण देखिन्छ । किनभने चिनीको आन्तरिक आपूर्ति प्रचुर मात्रामा भएको हो । भारतीय चिनी मिल संघका अनुसार यो सिजन भारतमा ३ करोड ५० लाख टन उत्पादन र २ करोड ७० लाख टन खपत हुने अनुमान छ । गत सिजनको करिब ८२ लाख टनको सञ्चिति सहित १६ करोड बचत छ ।
प्रतिक्रिया दिनुहोस