aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

नीति तथा कार्यक्रमको विषेशताः कृषि र स्वदेशी उत्पादनलाई प्राथमिकता

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • बुधबार, ११ जेठ २०७९
नीति तथा कार्यक्रमको विषेशताः कृषि र स्वदेशी उत्पादनलाई प्राथमिकता

काठमाडौं । कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख संवाहकको रूपमा विकास गर्ने र स्वदेशी उद्योगको विकास गरी मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ। संघीय संसद्को संयुक्त सदनमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार आर्थिक वर्ष २०७९र२०८० को सरकारी नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन्।

राष्ट्रिय कृषि नीति तर्जुमा गर्दै कृषिमा यान्त्रिकीकरण तथा व्यवसायीकरण गर्दै र खेतीमा जलवायु अनुकूल प्रविधिको प्रवर्द्धन गर्ने नीति सरकारले ल्याएको छ। कृषि क्षेत्रको आधुनिकीकरण गरेर आर्थिक वृद्धिको आधारलाई बलियो बनाउने नीति सरकारको छ। आगामी वर्षको बजेटमार्फत कृषि उत्पादन बढाउने र यसको बजारीकरण गर्दै आयात प्रतिस्थापन गर्ने नीति लिन विशेष व्यवस्था गरिने भएको छ।

 सबैभन्दा धेरै आयात हुने धान मकै, आलु, प्याज, ओखरजस्ता बालीको आयात विस्थापन गर्ने गरी स्वदेशमै उत्पादन गर्न विशेष कार्यक्रम अघि बढाइने नीति सरकारले लिएको छ। कृषिमा सूचना प्रणाली अपनाइने र कृषकको संरक्षण गर्ने नीति लिइनेछ। सरकारले प्रांगारिक मलमा अनुदान दिने भएको छ। २२ हजार हेक्टरभन्दा बढी कृषियोग्य जमिनमा सिँचाइ सुविधा विस्तार र सिँचाइका लागि विद्युत् महसुलमा पनि छुट दिइने भएको छ।

प्रतिक्रिया दिनुहोस