aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

बालबालिका मार्नुअघि बन्दुकधारीले सामाजिक सञ्जालमा यस्तो लेखेका थिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ जेठ २०७९
बालबालिका मार्नुअघि बन्दुकधारीले सामाजिक सञ्जालमा यस्तो लेखेका थिए

एजेन्सी । अमेरिकाको टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा २१ जनाको ज्यान लिने गरी आक्रमण गरेका बन्दुकधारीले हमला गर्नुअघि सामाजिक सञ्जालमा त्यसबारे लेखेको अधिकारीहरूले बताएका छन्। फेसबुक सञ्चालक कम्पनी मेटाका अनुसार १८ वर्षीय सन्दिग्धले लेखेका कुरा सीमित मानिसले हेर्न सक्नेगरी पोस्ट भएको बताइएको छ।

टेक्सस राज्यका गभर्नर ग्रेग याबटका अनुसार १९ जना बालबालिका र दुईजना शिक्षकलाई गोली प्रहार गर्नुअघि आक्रमणकारीले तीन वटा चेतावनी फेसबुकमा पोस्ट गरेका थिए। सुरुमा उनले आफ्नै हजुरआमालाई गोली हान्ने र पछि आफूले त्यसो गर्ने लेखेको याबटले बताएका छन्। त्यसपछि उनले एउटा एलिमेन्ट्री विद्यालयमा आक्रमण गर्न लागेको घोषणा गरेका थिए। उक्त सन्देश ती बन्दुकधारी विद्यालय पुग्नुभन्दा १५ मिनेटअघि मात्रै पोस्ट गरिएको बताइएको छ।

ती बन्दुकधारीले टेक्सस एलिमेन्ट्री स्कूलको एउटै कक्षा कोठामा १९ जना बालबालिका अनि दुई शिक्षकलाई मारेको बताइएको छ। उनले सबैलाई कोठामा थुनेका थिए। पछि उनलाई एक सीमारक्षक अधिकारीले गोली हानेर मारेका थिए। घटनामा कैयौँ बालबालिका घाइते भएका छन्। समाचारसंस्था एपीका अनुसार उक्त आक्रमण सुरु भएपछि नजिकै रहेका एक सीमारक्षक अधिकारी उक्त विद्यालय गए र ती युवकलाई गोली हानेर मारिदिए।

घटना भएको युभाल्डी मेक्सिकोसँगको सीमाभन्दा ८० माइल पर छ। मङ्गलवारको घटनामा दुईजना प्रहरी अधिकारी घाइते भएको तर उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ। बन्दुकधारी १८ वर्षका युवाले के कारण आक्रमण गरे भन्ने कुरा स्पष्ट हुन सकेको छैन। 

प्रतिक्रिया दिनुहोस