aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

बजेटले कुन कुन क्षेत्रको कर छुटको व्यवस्था गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ जेठ २०७९
बजेटले कुन कुन क्षेत्रको कर छुटको व्यवस्था गर्यो

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट मार्फत अर्थमन्त्री जनार्दन शर्माले स्यानेटरी प्याडको आयातमा लाग्दै आएको भन्सार महसुलमा ९० प्रतिशत छुट दिने घोषणा गरेका छन् । त्यस्तै, स्वदेशमा नै स्यानेटरी प्याड उत्पादन गर्ने उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थको आयातमा १ प्रतिशतमात्र भन्सार शुल्क लिने व्यवस्था गरेको छ । 

आज संघीय संसदको दुवै सदनमा प्रस्तुत बजेटमार्फत शर्माले आयकरको सीमालाई बढाएर व्यक्तिगत तर्फ ५ लाख र दम्पत्तितर्फ आयकर सीमा ६ लाख रुपैयाँ पर्याएको छ ।

यो सीमासम्म अव १ प्रतिशतमात्रै सामाजिक सुरक्षा सम्बन्धि कर तिरे हुने व्यवस्था गरेको छ । कोभिड–१९ महामारीबाट प्रभावित साना व्यवसायीलाई वार्षिक ३० लाख रुपैयाँसम्म कारोबार गर्ने करदातालाई ७५ प्रतिशत आयकर छुट  दिने भएको छ । त्यस्तै, बार्षिक ३० लाखदेखि एक करोड रुपैयाँसम्मको कारोबार भएका करदातालाई ५० प्रतिशत आयकर छुट प्रदान प्रदान गरिने भएको छ ।

सरकारले ल्याएको बजेट अनुसार, होटल, ट्राभल, ट्रेकिङ, चलचित्र ब्यवसायजस्ता पर्यटन क्षेत्रका उद्योगको आर्थिक बर्ष २०७८÷७९ को उद्देश्य बमोजिमको व्यवसायिक करयोग्य आयमा ५० प्रतिशत कर छुट पाउने छन । 

त्यस्तै, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा रहेका जिल्लामा १०० जनाभन्दा बढिलाई रोजगारी प्रदान गर्ने गरी विशेष उद्योग स्थापना गरेमा त्यो उद्योगले कारोबार सुरु गरेको मितिले १५ बर्षसम्म आयकर पूर्ण रुपमा छुट हुने छ ।

कृषि औजार कारखाना नेपालमा नै खोल्न प्रोत्साहन गर्न यस्तो उद्योग स्थापना गरेमा कारोबार सञ्चालन भएको मितिले ५ बर्षसम्म आयकर पूर्ण रुपमा छुट दिने भएको छ । साहित्यिक लेख वा रचनाको रोयल्टी स्वरुप प्राप्त हुने      लेखक शुल्कमा १.५ प्रतिशत मात्र अग्रिम कर कट्टी हुने ब्यवस्था गरिएको छ ।

बिलासिताका सामानहरुको आयातलाई निरुत्साहित गर्न भन्सार महसुल, अन्तःशुल्क लगायतका पैठारीमा लाग्ने करका दरमा बढोत्तरी गरिएको छ ।

चारपाङ्ग्रे सवारीसाधन उत्पादन वा एसेम्बल गर्ने उद्योग स्थापना गरेमा सवारीसाधन उत्पादनका लागि चाहिने पाटपुर्जा वा कच्चा पदार्थको आयातमा उद्योग विभागको सिफारिसमा ५० प्रतिशत अन्तःशुल्क छुट दिनुका साथै भन्सार महसुलमा समेत २५ प्रतिशत छुट दिने व्यवस्था मिलाएको बताउनुभएको छ ।

आगामी आर्थिक वर्षको बजेट भाषणमा मन्त्री शर्माले स्यानेटरी प्याडको आयातमा लाग्दै आएको भन्सार महसुलमा ९० प्रतिशत छुट प्रदान गर्ने र नेपालमा नै स्यानेटरी प्याड उत्पादन गर्ने उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थको आयातमा एक प्रतिशतमात्र भन्सार महसुल लाग्ने गरी भन्सार दरमा छुट प्रदान गर्ने व्यवस्था मिलाएको उल्लेख गर्नुभएको छ ।

त्यस्तै कृषि उत्पादनको ढुवानी तथा बजारीकरणमा सहयोग पु¥याउन स्थानीय तहले एकवटा कृषि एम्बुलेन्स वा ढुवानी साधन खरिद गरेमा उक्त साधनको पैठारीमा लाग्ने भन्सार महसुल पूर्णरूपमा छुट दिने तथा कृषि सहकारीले कृषिजन्य उत्पादन ढुवानी गर्न खरिद गर्ने एक थान ढुवानी साधनको आयातमा लाग्ने भन्सार महसुलमा ५० प्रतिशत छुट प्रदान गर्ने व्यवस्था बजेटमा रहेको छ ।

त्यस्तै, विद्युतीय रिक्सा र विद्युतीय मोटरसाईकल वा स्कुटर उत्पादन गर्ने उद्योगले प्रयोग गर्ने कच्चा पदार्थ वा पाटपूर्जामा १ प्रतिशत मात्र भन्सार महसुल लाग्ने व्यवस्था गरिएको छ ।

कृषि सहकारीले कृषिजन्य उत्पादन ढुवानी गर्न खरिद गर्ने एक थान ढुवानी साधनको आयातमा लाग्ने भन्सार महसुलमा ५० प्रतिशत छुट प्रदान गर्ने व्यवस्था गरिएको छ ।

सामुदायिक वा सार्वजनिक विद्यालयले खरिद गर्ने विद्यालय बसका लागि बढीमा २ वटाको आयातमा लाग्ने भन्सार महसुलमा ७५ प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।

नेपाली नागरिकलाई राहदानी नविकरण, कन्सुलर सेवा तथा श्रम स्वीकृति नविकरण वापत लाग्ने शुल्क वा दस्तुरमा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।

हाल वियर उत्पादन गर्ने प्रतिष्ठानमा मात्र फ्लोमिटरको व्यवस्था रहेकोमा वाइन तथा मदिरा उत्पादन गर्ने प्रतिष्ठानमा समेत फ्लोमिटर जडान गर्नु पर्ने व्यवस्था गरिने अर्थमन्त्री शर्माले बताएका छन् । 


 

प्रतिक्रिया दिनुहोस