aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

प्रतिनिधि सभामा बजेट छलफलः कसले के भने ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ जेठ २०७९
प्रतिनिधि सभामा बजेट छलफलः कसले के भने ?

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल भइरहेको छ । बजेटको छलफल र जवाफका लागि सभामुख अग्निप्रसाद सापकोटाले यही जेठ १७, १८ र १९ गतेका दिनहरु तोकेका छन् । सरकारले ल्याएको आगामी आवको बजेटबारे विभिन्न टिप्पणी भएको छ । 

‘आर्थिक बोझ पर्ने गरी बजेट ल्याइयो’ 
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पाँच महिना अवधि बाँकी रहेको सरकारले भर्खरै निर्वाचनपछि निर्मित सरकारले झैँ आर्थिक बोझ पर्ने गरी बजेट ल्याएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । 

पूर्वअर्थमन्त्री पौडेलले उक्त बजेट मतदातालाई रिझाएर आउने निर्वाचनमा भोट प्रभावित गर्ने उद्देश्यबाट प्रेरित भएको आरोप लगाए । आर्थिक सङ्कटको डिलमा पुगेको मुलुकको अवस्थालाई ख्याल नगरी बजेट ल्याइएको उनको भनाइ छ । उनले आठ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य आधारहीन रहेको आरोप लगाए । नेता पौडेलले भने, ‘नाराहरु जतिसुकै सुन्दर भए पनि प्रस्तुत बजेट उल्टो दिशातर्फ उन्मुख छ ।’ 

‘बजेटको मूल दिशा सही छ’  
प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सैद्धान्तिक छलफलमा भाग लिँदै सत्तारूढ नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले बजेटको मूल दिशा सही भएको बताएका छन् । डा. रिजालले बजेटमा चालू र विकास खर्च चुनौतीपूर्ण भए पनि अघिल्लो सरकारको विरासतका रुपमा वैदेशिक र आन्तरिक ऋण तथा व्यापार घाटा कायम रहेको बताउँदै यसको सामनाका लागि सबै गम्भीर छलफलमा आएर आर्थिक अवस्था सुधारमा लाग्नुपर्ने खाँचो औँल्याए । 

उनले बजेटले कृषि क्षेत्रमा आयात बढाउने नीति लिएको, कर्मचारीको तलब वृद्धि भएको, उद्योगका क्षेत्रमा नवप्रवर्तनमा जोड दिइएको, उत्पादनमा नयाँ संरक्षणको खोजी र विदेशी लगानीका लागि नयाँ बाटो तय गरेको जनाए ।

नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलका भनाइमा जवाफ दिँदै डा रिजालले अघिल्लो सरकारले संसद् विघटन गरेर निर्वाचन घोषणा भएको अवस्थामा संसद् बाहिरबाट ल्याएको बजेट र हालको बजेटको तुलना गर्न उपयुक्त नहुने बताए । ‘हजारौँ माइलको यात्राको पहिलो कदमको थालनी गरेका छौँ तर सत्ता पक्ष र विपक्षका लागि नेपाल निर्माणका लागि कसरी सँगै जान सक्छौँ, एकापसमा गालीगलौज नगरौँ । मुलुकका लागि सोचौँ’, उनले भने ।    

‘बजेटले अर्थतन्त्रको संरचनालाई रुपान्तरण गर्नेछ’
सत्तारुढ नेकपा (माओवादी केन्द्र) का नेता वर्षामान पुनले अर्थतन्त्रको परम्परागत संरचनालाई पुनः संरचना गर्ने दिशालाई बजेटले आत्मसात गरेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को प्रस्तुत बजेटमाथि सैद्धान्तिक छलफलमा भाग लिँदै पूर्व अर्थमन्त्री पुनले यो बजेट सरकारको नीति तथा कार्यक्रम एवं उत्पादनमा आधारित भई रोजगारी सिर्जना र गरिबी नियन्त्रणजस्ता बजेटका उद्देश्य देखिएकाले बजेट समयकै कार्यान्वयन भएर सफल हुने विश्वास व्यक्त गरे । 

उनले कृषिमा पेन्सनको सुविधा, लघुवित्त कर्जा, बाँझो जमिनलाई उपयोग गर्ने विषय, किसानका उत्पादनलाई बजारको सुनिश्चिता, पशु बीमाको प्रिमियम वृद्धि, स्वदेशी उत्पादनलाई प्रश्रय, ज्ञानमा आधारिक व्यावसायिक सूचना केन्द्रजस्ता कार्यक्रम महत्वपूर्ण भएको बताए । नेता पुनले विद्युतीय गाडीको प्रयोग बढाउनुपर्ने भएकाले ती गाडीका लागि बढी कर नलगाउन आग्रह गर्दै आगामी निर्वाचनसम्म यही गठबन्धन कायम रहने भएकाले बजेटको कार्यान्वयनमा कुनै समस्या नआउने भनाइ राखे ।  

प्रतिक्रिया दिनुहोस