काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटअन्तर्गत राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा प्रतिपक्षि दलका नेताले वितरणमुखी बजेट आएको भन्दै आलोचना गरेका छन् । छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद भानुभक्त ढकालले सुकुम्बासी समस्या समाधान गर्न बजेटमा व्यवस्था गरिनु सकारात्मक भएको तर निर्वाचन केन्द्रित बजेट वितरणमुखी विनियोजन गरेकामा आलोचना गरे ।
अर्का सांसद हृदयेश त्रिपाठीले योगदानका आधारमा पेन्सन दिने कसरी भन्दै प्रश्न गरे । कृषि क्षेत्रमा लगानी गर्ने भनिए पनि त्यो किसानमुखी नहुने देखिएको उल्लेख गर्दै उहाँले सहकारीलाई रु १० करोडसम्मको ठेक्का गर्न दिने व्यवस्था उपयुक्त हुने नदेखिएको बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले बजेटले मूल्य वृद्धि रोक्न नसक्ने बताए ।
प्रतिनिधिसभामा राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उनले चुनावमुखी र वितरणमुखी बजेटले जीवन परिवर्तन गर्न नसक्ने जिकिर गरे । बजेटको आम्दानीका स्रोत के हुन् भनी प्रश्न गर्दै उनले वैदेशिक सहयोग र ऋणबाट बजेट बनाउँदा कार्यान्वयनको सम्भावना नहुने र परम्परागत बजेट आएकाले स्वदेशी उत्पादनलाई अनिवार्य प्रयोग गर्नमा जोड नदिइएको बताए ।
प्रतिक्रिया दिनुहोस