
काठमाडौँ । भारतबाट पेट्रोलियम पदार्थ आयात गर्न अमलेखगन्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न गरेको सरकारले चीनबाट पनि पेट्रोलियम ल्याउन पाइपलाइन बनाउने तयारी गरेको छ ।
भारतको नाकाबन्दीपछि विकल्पमा चीनबाट पेट्रोलियम पदार्थ ल्याउन सक्ने निर्णय गरेको सरकारले चीनको केरुङदेखि रसुवागढी हुँदै नुवाकोट तथा धादिङसम्म पाइपलाइन विस्तारको सम्भाव्यता अध्ययन गर्न लागेको हो ।
सरकारकै योजना अनुसार नेपाल आयल निगमले चालु आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा पाइपलाइन विस्तारका लागि सम्भाव्यता अध्ययनको कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।
चीनको केरुङसम्म रेलबाट पेट्रोलियम पदार्थ ढुवानी हुने सम्भावना बढ्दै गएकाले केरुङदेखि रसुवागढी हुँदै नुवाकोट तथा धादिङसम्म पाइपलाइनको अध्ययन गर्ने निगमले जनाएको छ ।
चीनबाट पाइपलाईन विस्तार गर्न चीनसँग कूटनीतिक माध्यमबाट सम्भाव्यता अध्ययन तथा सहयोगका लागि अनुरोध गर्ने निगमको तयारी छ । सरकारको योजना अनुसार सम्भाव्यता अध्ययन गर्ने कार्यक्रम राखेको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए ।
‘अध्ययनका लागि विभागीय मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग समन्वय गर्छौं,’ पौडेलले भने, ‘पूर्व सम्भाव्यता अध्ययन गर्ने तयारीमा छौं ।’ भारतको नाकाबन्दीका बेलामा चीनले १३ लाख लिटर पेट्रोल अनुदान दिएपछि ट्याङ्करमा ल्याएर वितरण गरेको थियो ।
चीनबाट ट्याङ्करबाट ढुवानी गरेर ल्याउँदा निकै महङ्गो पर्ने भएकाले पाइपलाईनको योजना बनाएको हो । यो समाचार आजको नागरिक दैनिकमा छापिएको हो ।
प्रतिक्रिया दिनुहोस