
बेइजिङ । विश्वमै शक्तिशाली अर्थतन्त्र र उदयीमान मुलुकको पहिचान कायम गर्दै गएको चीन यतिबेला आफ्नै मुद्रा अबमूल्यनले गर्दा रुमल्लिएको छ । समृद्घि र प्रगतिका लागि आफुलाई अन्तराष्ट्रिय रुपमै सफल उदाहरण प्रस्तुत गरेको चीनमा मुद्रा अबमूल्यन हुँदा सबैको चासो पनि यतातर्फ मोडिएको छ ।
अमेरिकाले भर्खरै चिनियाँ सामानमा नयाँ ट्यारिफ लगाउने बताएपछिको व्यापार युद्धले चिनियाँ नीतिमा परिवर्तन ल्याएको हो । एक दशकभन्दा बढी समयको अन्तरालमा पहिलो पटक चिनियाँ मुद्रा एकदमै कमजोर बनेको छ ।
सोमबार एक अमेरिकी डलरबराबर सात युयान (चिनियाँ मुद्रा) भएको थियो । यो सन् २००८ पछिकै खराब अवस्था हो । बेइजिङले यसअघि सांकेतिक तहभन्दा तल चिनियाँ मुद्रालाई झर्न नदिनका लागि खोजे पनि सफल हुन सकेन ।
युयानको मूल्य घट्नुमा ‘एकपक्षीय र व्यापार संरक्षणवादी उपायहरु र चीनमाथि लगाइएको ट्यारिफ वृद्धि प्रखुम कारण भएको’ पिपल्स् बैंक अफ चाइना ९पिबिओसी०ले सोमबार जनाएको थियो ।
तीन खर्ब डलरबराबरको चिनियाँ सामानमा थप १० प्रतिशत ट्यारिफ लगाउने भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पले बताएको केही दिनपछि चिनियाँ मुद्राकोे मूल्य घटेको हो ।
चिनियाँ मुद्रा युयान स्वतन्त्र रूपमा कारोबार हुँदैन र चीन सरकारले पनि अमेरिकी डलरविरुद्ध यसको सक्रियतालाई सीमित गरेको छ ।
अन्य देशका केन्द्रीय बैंकको ठीक विपरीत पिबिओसीले स्वतन्त्र बैंक हैन । चिनियाँ मुद्राको विषयमा बैंकले ठूलो हस्तक्षेपको सामाना गर्नु पर्ने बताइन्छ ।
ट्यारिफ लगाउने भन्दै अमेरिकाले दिएको पछिल्लो चेतावनीसँग जोड्दै भएको युयानको अवमूल्यनमा पिबिओसीले ‘प्रत्यक्ष हस्तक्षेपद्वारा मुद्रालाई कमजोर नबनाएको भए पनि प्रभावकारी रूपमा एक्सचेन्ज दरलाई हतियारको रूपमा प्रयोग गरेको छ’ एक वरिष्ठ चिनियाँ अर्थशास्त्री जुलियन एभान्स–प्रिटचार्डलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ ।
कमजोर युयानले चिनियाँ निर्यातलाई झनै प्रतिस्पर्धी बनाउने छ वा विदेशी मुद्रा किन्न झनै सस्तो बनाउने छ । अमेरिकी दृष्टिकोणबाट हेर्ने हो भने यो अमेरिका पुग्ने चिनियाँ सामानमाथि लगाइएको उच्च ट्यारिफको प्रभावलाई सन्तुलन गराउने प्रयास हो ।
चिनियाँ मुद्रा कमजोर हुनु भनेको विश्वभरका उपभोक्ताका लागि जितका रूपमा देखिए पनि वा उनीहरुले सस्तो मूल्यमा चिनियाँ सामान किन्न सक्ने भए पनि यसका अन्य थुप्रै जोखिम पनि छन् । कमजोर युयानले चीनमा हुने आयातलाई पनि थप महँगो बनाउने छ ।
यसले सम्भावित मुद्रा स्फ्रितीतर्फ पनि लान सक्छ, जसका कारण अहिले नै आर्थिक वृद्धिदरमा कमी आइरहेको चीनका लागि समस्या हुनसक्छ । यसकै कारण चिनियाँ मुद्रा भएकाहरुले अन्य सम्पत्तिमा लागानी गर्न सक्छन् ।
यसअघि पनि चीनले सन् २०१५ मा आफ्नो मुद्रालाई अमेरिकी डलरको दाँजोमा कम दर बनाएको थियो। त्यसबेला चीनको केन्द्रीय बैंकले बजार सुधारका लागि समर्थन गर्न यस्तो कदम चालिएको बताएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आयात हुने थप ३०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा १० प्रतिशत करवृद्धि गर्ने घोषणा गरेका थिए ।
चीनसँगको व्यापार वार्तामा चीनले अलमल गरिरहेको भन्दै राष्ट्रपति ट्रम्पले आगामी सेप्टेम्बर १ तारिखदेखि लागू हुनेगरी करवृद्धिको घोषणा गरेका थिए । राष्ट्रपति ट्रम्पले चीनले तत्काल कुनै कदम नचाले १० प्रतिशत करवृद्धिलाई अझ बढाउने चेतावनी पनि दिएका थिए ।
अमेरिकी घोषणासँगै विश्वका दुई प्रमुख अर्थतन्त्र भएका मुलुकहरु चीन र अमेरिकाबीच भइरहेको करिब ६६० अर्ब अमेरिकी डलर बराबरका आयात–निर्यातमा करवृद्धि भएको छ अर्थात् यो निर्णयबाट दुबै देशबीचको सम्पूर्ण कारोबारमा अब करवृद्धि हुनेछ ।
यसअघि नै अमेरिकाले करिब २५० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा २५ प्रतिशत करवृद्धि गरिसकेको छ । राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरुसँग भनेका थिए, “अहिलेको १० प्रतिशत पनि छोटो अवधिका लागि हो, र यो बढ्ने वा घट्ने कुरा चीनमा निर्भर छ । विश्वसनीय सम्झौता नभए यसलाई २५ प्रतिशतसम्म बढाइने छ ।”
प्रतिक्रिया दिनुहोस