काठमाडौँ । लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आर्थिक बर्ष २०७९(८० को बजेट समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । बजेटको समिक्षा तथा राष्ट्रिय अर्थतन्त्रमायसको प्रभाव विषयक छलफल मार्फत आइक्यानले नयाँ बजेटका अवसर, चुनौती, सम्भावना र यसको कार्यान्वयनका जटिलताबारे समीक्षात्मक कार्यक्रम सम्पन्न गरेको हो । सो कार्यक्रममा बरिष्ठ अर्थशास्ती डा रघुबीर बिष्टले अहिलेको बजेटले सार्वजनिक गरेका विभिन्न नीति, र यसले नेपालको अर्थतन्त्रमापारेको प्रभावबारे आफ्नो समिक्षात्मक प्रस्तुती राखेका थिए भने सो समिक्षामा अन्य विज्ञहरुले समेत छलफल गरेका थिए ।
कार्यक्रममा आइक्यानका अध्यक्ष सिए युद्ध राजओलीसहित अर्थ मन्त्रालयका प्रतिनिधि, नेपाल उद्योग बाणिज्य महासंघका प्रतिनिधि, लगायतले बजेटबारे सुक्ष्म समिक्षा गरेका थिए । झन्डै १२० चार्टड एकाउन्टेन्टहरु सहभागी सो कार्यक्रममा बजेटले करका नीतिहरुमा गरेको परिवर्तन र यसले पार्ने प्रभावबारे सिए अरुण राउतले आफ्नो प्रस्तुती दिएका थिए । उनले अहिलेको बजेटले करको दायरा कहाँकहाँ बढाएको छ, कहाँकहाँ करदाताले छुट पाएका छन लगायतका विषयमा तिप्पणी समेत गरेका थिए ।
कार्यक्रमका सहभागीहरुमध्ये अधिकांसले बजेटको कार्यान्वयनपक्षमा सरकारले जोड दिनुपर्ने धारणा राखेका थिए । बजेटले ल्याएका कतिपय व्यवस्थाहरुको कार्यान्वयनमा चुनौती रहेको विश्लेषण गर्दै विज्ञहरुले बजेटमा आएका नीतिहरु अक्षरस पालना भए त्यसले नेपाली अर्थतन्त्रलाई सकारात्मक प्रभाव पार्ने भएपनि बजेटले गरेका कतिपय व्यवस्थाको कार्यान्वयन पक्ष जटिल भएकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा उपस्थित लेखा व्यवसायीहरुले बजेटबारे विज्ञहरुले गरेको समिक्षाबारे थप छलफल समेत गरेका थिए । आइक्यानले यसरी भौतिक रुपमै पहिलोपटक बजेट समिक्षा कार्यक्रमको आयोजना गरेको हो ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐनद्वारा स्थापित नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले नेपाली लेखा व्यवसायीहरुलाई नियमन गर्ने काम गर्छ भने नेपालमा नेपाल चार्टर्ड एकाउन्टेन्सी शिक्षाका लागि विद्यार्र्थी भर्ना गर्ने, परिक्षा लिने तथा लेखा व्यवसायीहरुलाई सर्टिफिकेट अफ प्राक्टिस अर्थात लेखा व्यवसाय गर्ने लाइसेन्स प्रदान गर्ने काम गर्दछ । नेपाली अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने लेखा व्यवसायीहरुलाई नियमनगर्ने निकायले गर्ने बजेट समिक्षालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस