aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

स्वतन्त्र रुपमा मेयर जितेका बालेन्द्र राजनीति दलका नेता भेटघाटमा बेस्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २१ जेठ २०७९
स्वतन्त्र रुपमा मेयर जितेका बालेन्द्र राजनीति दलका नेता भेटघाटमा बेस्त

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले आज भेटवार्ता गरेका छन । स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौं महानगरपालिकामा चुनाव जितेका साह एकपछि अर्को नेताकहा धाइरहेका छन् ।  

ललितपुरको खुमल्टारस्थित दाहाल निवासमा भएको भेटवार्तामा उनले अध्यक्ष दाहालसँग काठमाडौँ महानगरको समग्र विकासका सन्दर्भमा कुराकानी गरेको बताइएको छ । महानगरको विकासका सन्दर्भमा विभिन्न राजनीतिक दलका प्रमुखहरुसँग भेटवार्ता गर्ने क्रममा उहाँले आज अध्यक्ष दाहालसँग भेटघाट गरेका हुन। 

भेटमा प्रमुख साहले आफू स्वतन्त्र भएकाले सबै दलसँग काम गर्न सजिलो रहेको जानकारी दिँदै फोहर व्यवस्थापनलगायतका कामको थालनी भएको जानकारी गराएको अध्यक्ष दाहालका प्रेस सहयोगी सूर्यकिरण शर्माले जानकारी दिए ।

अध्यक्ष दाहालले माओवादी पार्टीले पनि युवालाई समेटेर अघि बढेको र यसपालीको स्थानीय तह निर्वाचनमा पनि युवाहरु नै बढी विजयी भएको जानकारी दिँदै युवाको विकास अभियानमा साथ र सहयोग रहने विश्वास व्यक्त गरेका छन ।

साहको सचिवालयका अनुसार काठमाडौँमा उनको विजय नै आम नेपालीको विजय भएको उल्लेख गर्दै कुनै एउटा पार्टीगतभन्दा पनि मतदाताको सम्मानका लागि विकासका काम गर्न अध्यक्ष दाहालले शुभकामना दिएका छन । अध्यक्ष दाहालले धरान, काठमाडौँलगायतमा स्वतन्त्र उम्मेदवार विजयी हुनुले मुलुकमा नयाँ क्रान्तिको शुरुवात भएको बताएको सचिवालयले जनाएको छ । 

भेटका क्रममा कुराकानीमा प्रमुख साहले अध्यक्ष दाहालसँगको भेटमा आफूले विकासको काममा निरन्तरता दिने, विकासको एजेण्डा बोक्न सक्ने र दृष्टिकोण भएका व्यक्तिलाई राजनीतिमा ल्याउनुपर्ने आवश्यकता रहेको बताएको जानकारी दिए । यसअघि प्रमुख शाहले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेका छन ।

प्रतिक्रिया दिनुहोस