aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

सर्ट, पेन्ट र अण्डरवेयरमा सुनको पेस्ट लगाएर अवैध सुन ल्याउने विमान स्थलबाट पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ जेठ २०७९
सर्ट, पेन्ट र अण्डरवेयरमा सुनको पेस्ट लगाएर अवैध  सुन ल्याउने विमान स्थलबाट पक्राउ

काठमाडौं । भन्सार छली अवैध रूपमा ल्याएको ८ सय ८८ ग्राम २ सय ४१ मिलिग्राम सुन सहित उक्त कार्यमा संलग्न रहेको अभियोगमा ७ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा रुपन्देही सैनामैना नगरपालिका-१ बस्ने गुल्मी ठेगाना भएका ४२ वर्षीय सुरेश बहादुर शाही, कपिलवस्तु बाणगंगा नगरपालिका-८ ठेगाना भएका २९ वर्षीय सन्दिप चन्द ठकुरी, काठमाडौं बौद्ध बस्ने बारा जितपुरसिमरा उपमहानगरपालिका-१६ ठेगाना भएका २२ वर्षीया निर्मला घलान रहेको छन । 

त्यस्तै, काठमाडौं बुढानिलकण्ठ बस्ने धनुषा बट्टेश्वर गाउँपालिका-४ ठेगाना भएका ४१ वर्षीय राहुल भन्ने बरूण भक्त माथेमा, काठमाडौं बौद्ध बस्ने चीन तिब्बत छेन्दु ठेगाना भएका २७ वर्षीय लोप्साङ ग्याल्सेन, काठमाडौं माछापोखरी बस्ने नवलपरासी (पश्चिम) सुनवल नगरपालिका-१० ठेगाना भएका ४२ वर्षीय युवराज भुषाल र ललितपुर बागडोल बस्ने भारत दिल्ली कृष्णनगर ठेगाना भएका ५१ वर्षीय अमन राजपुत रहेका छन् ।

दुवईबाट काठमाडौं आउने नेपाल वायु सेवा निगमको जहाजमा केही व्यक्तिहरूले भन्सार छली अवैध रूपमा सुन ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षको गेट बाहिरबाट सुरेश बहादुर शाही र सन्दिप चन्द ठकुरीलाई आफूले लगाएको सर्ट, पेन्ट तथा अण्डरवेयरका विभिन्न भागहरूमा सुनको पेस्ट बनाई लुकाई छिपाई ल्याएको सुन सहित फेला पारी पक्राउ गरेको हो ।

 सुरेशको साथबाट ३ सय १६ ग्राम ८१ मिलिग्राम र सन्दिपको साथबाट ५ सय ७२ ग्राम १ सय ६० मिलिग्राम सुन बरामद भएको हो । साथै उक्त कार्यमा संलग्न अन्य ५ जनालाई समेत काठमाडौंका विभिन्न स्थानहरूबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई थप आवश्यक अनुसन्धान एवम् कानूनी कारवाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरण काठमाडौं पठाइएको छ । 

प्रतिक्रिया दिनुहोस