aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

महानगरको कार्यपालिका सदस्यमा आठ प्रतिनिधि निर्वाचित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ जेठ २०७९
महानगरको कार्यपालिका सदस्यमा आठ प्रतिनिधि निर्वाचित

काठमाडौं । काठमाडौँ महानगरपालिकाको कार्यपालिका सदस्यमा आठ प्रतिनिधि निर्वाचित भएका छन । मंगलबार राष्ट्रिय सभागृहमा सम्पन्न निर्वाचनबाट उनीहरु निर्वाचित भएका हुन । 

नगर कार्यपालिकाको महिला सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवार मीना सुनार, मीना सिंह, कञ्चना नेपाली हरिजन र ललिता खड्गी तथा नेकपा (एकीकृत समाजवादी) की मैयाँलक्ष्मी महर्जन निर्वाचित भएकी छिन । दलित वा अल्पसङ्ख्यकतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार विनोद अछामी र महेश नेपाली तथा नेकपा (माओवादी केन्द्र) का अनिता कार्की ढोली निर्वाचित भएकी छन । 

निर्वाचन कार्यक्रमअन्तर्गत आज नै मतदान गरिएको थियो । गएको वैशाख ३१ गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट काठमाडौँ महानगरका लागि निर्वाचित जनप्रतिनिधि मतदाता रहेको निर्वाचनमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डङ्गोलसहित १६० जना सबै सदस्यले मतदान गरेका थिए । 

प्रमुख र उपप्रमुखसहित १६२ मतदाता हुनुपर्नेमा वडा २४ र २५ मा दलित महिला सदस्य पदका लागि कसैको पनि उम्मेदवारी नपरेकाले प्रमुख उपप्रमुखसहित मतदाताको सङ्ख्या १६० भएको हो । निर्वाचन परिणामपछि महानगरको कार्यपालिका सदस्य सङ्ख्या ४२ भएको छ । यसमा प्रमुख र उपप्रमुख, ३२ जना वडाध्यक्ष र आठ जना कार्यपालिका सदस्य छन । 

निर्वाचनपछि मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले निर्वाचन परिणाम सार्वजनिक गर्नुभएको थियो । निर्वाचित जनप्रतिनिधिलाई आज दिउँसो १ बजे प्रमाणपत्र वितरण गर्ने कार्यक्रम छ । 

प्रतिक्रिया दिनुहोस