
एजेन्सी । बढ्दो मुद्रास्फीतिबाट चिन्तित भारतीय रिजर्भ बैंक (आरबीआई) ले रिपो दर ०.५० प्रतिशतले बढाएको छ । यससँगै रेपो दर ४.४० प्रतिशतबाट बढेर ४.९० प्रतिशत पुगेको छ । भारतमा पनि अब होम लोनदेखि अटो र पर्सनल लोनसम्म सबै महँगो हुने भएको छ । ब्याजदरबारे निर्णय गर्न जेठ ६ गतेदेखि मौद्रिक नीति समितिको बैठक बस्दैछ । आरबीआईका गभर्नर शक्तिकान्त दासले बुधबार पत्रकार सम्मेलन गरी ब्याजदरमा भएका निर्णयबारे जानकारी दिएका हुन् ।
जब आरबीआईले रेपो दर घटाउँछ । बैंकहरूले पनि प्रायः ब्याज दर घटाउँछन् । अर्थात् ग्राहकलाई दिइने ऋणको ब्याजदर कम हुनुका साथै इएमआई पनि घट्छ । त्यसैगरी, रिपो दरमा वृद्धि हुँदा ब्याजदर बढ्दा ग्राहकलाई कर्जा महँगो हुन्छ । यसको कारण वाणिज्य बैंकहरूले केन्द्रीय बैंकबाट बढी मूल्यमा पैसा पाउँछन् । जसले गर्दा उनीहरूले ब्याजदर बढाउन बाध्य हुन्छन् ।
ब्लूमबर्गले सर्वेक्षण गरेका ४१ मध्ये १७ अर्थशास्त्रीले रेपो दर ०.५० प्रतिशतले बढाएर ४.९ प्रतिशत हुने प्रक्षेपण गरेका थिए । केही अर्थशास्त्रीहरू विश्वास गर्छन् आरबीआईले बिस्तारै रिपो दर ५.१५% को पूर्व–कोविड स्तर माथि बढाउँछ । प्रत्येक दुई महिनामा मौद्रिक नीति बैठक बस्ने गरे पनि विगतमा आरबीआईले वैशाख २ र ३ मा आकस्मिक बैठक बोलाएर रिपो दर ४ प्रतिशतबाट बढाएर ४ दशमलव ४० प्रतिशत पुर्याएको थियो ।
बेलायत र युरोजोनको मुद्रास्फीति ४० वर्षको रेकर्ड ८ प्रतिशतभन्दा माथि पुगेको छ । यस्तो अवस्थामा विश्वव्यापी मुद्रास्फीति बढ्ने डर छ । रुस–युक्रेन युद्धका कारण कच्चा तेलदेखि धातुको मूल्यमा ठूलो उतारचढाव भइरहेका बेला आरबीआईको मौद्रिक नीति समिति (एमपीसी) को आपतकालीन बैठक बसेको हो ।
प्रतिक्रिया दिनुहोस