काठमाडौं । काठमाडौं उपत्यकाका हप्तौं अघिदेखिको फोहोर व्यवस्थापनका लागि पुन १८ बुँदे सहमति भएको छ । काठमाडौंको फोहोर व्यवस्थापन हुँदै आएको नुवाकोटको सिसडोल बञ्चरेडाँडा ल्याण्डफिल साइडबीचमा फोहोर व्यवस्थापन गर्न मध्यरातमा १८ बुँदे सहमति भएको हो ।
उक्त सहमतिमा शुक्रबारदेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न स्थानीयबाट कुनै पनि अवरोध नगर्ने भनिएको छ । त्यस्तै जेठ २३ गते फोहोर उठाउन दिने भनेर त्रिपक्षीय सहमति भएपनि प्रभावित क्षेत्रका बासिन्दाले अवरोध कायम गर्दै आएका थिए ।
फोहोर व्यवस्थापन स्थानका स्थानी बासीबीचमा बिहीबार भएको सहमतिपत्रमा ककनी गाउँपालिका वडा नम्बर १ र २ का अध्यक्ष तथा धुनिवेशी नगरपालिका वडा नम्बर १ र २ का अध्यक्षले हस्ताक्षर गरेका छन् । यस्तै महानगरपालिकाको तर्फबाट मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले हस्ताक्षर गरेका छन् ।
किन सँधै विवाद भइरहन्छ उपत्यकाको फोहोर व्यवस्थापन स्थान उक्त बञ्चरेडाँडा डाँडाको खोँचमा रहको गहिरो ठाउँ को ? यसको छेउबाट कोल्पुखोला बग्छ । २०५२ सालमा काठमाडौंको मूलपानीबाट उक्त स्थानमा डम्पिङ साइट सारियो ।
यस ठाउँको पहिचान भएपश्चात काठमाडौंका तत्कालीन मेयर पीएल सिंह र तत्कालीन स्थानीय विकासमन्त्री रामचन्द्र पौडेलले बञ्चरेडाँडाको अवलोकन गरे र स्थानीय बासिन्दासँग समन्वय पनि भयो ।
पीएल सिंहको कार्यकाल सकिएपछि केशव स्थापित मेयर बने । स्थापितले पनि बञ्चरेडाँडामा डम्पिङ साइट बनाउन पूर्वाधार निर्माणको काम अघि बढाउन सकेनन् । त्यसबीचमा जाइकासँगको सहकार्यमा दीर्घकालीन रूपमा काठमाडौंको फोहोर व्यवस्थापन गर्न बञ्चरेडाँडामा साइट निर्माण गर्ने सहमति भएको थियो ।
सिसडोल बञ्चरेडाँडाबाट करीब दुई किलोमिटर दुरीमा पर्ने ठाउँ हो । बञ्चरेडाँडाको डम्पिङ साइट तयार नहुँदासम्म अस्थायी रूपले त्यहाँ फोहोर फाल्न त्यहाँका स्थानीयवासी र सरोकारवाला निकाय फोहोरमैला व्यवस्थापन केन्द्र, काठमाडौं महानगर, तत्कालीन ललितपुर उपमहानगर र ओखरपौवा ल्यान्डफिल साइट समन्वय समितिबीच सम्झौता भएको थियो ।
सम्झौतामा तीन वर्षसम्म मात्र फोहोर सिसडोलमा फाल्ने र त्यो पनि दैनिक ३ सय टन मात्र फाल्ने भनिएको थियो । त्यही सम्झौताअनुसार सिसडोलमा फोहोर फाल्न शुरू भयो । विभिन्न पार्टीका सरकार आए । विभिन्न व्यक्तिहरू मन्त्री भए तर सम्झौताअनुसार बञ्चरेडाँडा साइट निर्माणको काम भएन । सिसडोलमा थुप्रिएको फोहोरको पहाड नै ठडिसक्दा पनि बञ्चरेडाँडा साइट निर्माण पूरा गर्न सरकारले पटक्कै ध्यान दिएन।
तर केही महिनापछि जथाभावी फोहोरमैला फालिदिँदा डम्पिङ साइट(सिसडोल) नजिक मात्र होइन । वरपरका गाउँ हालको ककनी गाउँपालिका (नुवाकोट) को वडा न। १, २, ३ र धुनीबेशी नगरपालिका (धादिङ०को केही वडाको गाउँमा समेत दुर्गन्ध फैलिन थाल्यो ।
फोहोरबाट रसाउने दूषित पानी त्यहाँको खानेपानी स्रोतमा मिसियो र सिसडोल र छिमेकी गाउँमा झाडापखाला फैलिन थाल्यो। केहीको ज्यान पनि गयो । यसबीचमा १७ जनाको फोहोरका ट्रकले किचेर भएको मृत्यु भएको र ३५ जनाको क्यान्सरलगायतका रोगबाट मृत्यु भएको स्थानीय बताउँछन् ।


प्रतिक्रिया दिनुहोस