
महानपालिका सरकारहरुको पहिलो कार्यकालमा सफल मानिएका अत्यन्तै थोरै पालिकामध्ये एक हो, ललितपुर महानगरपालिका । त्यसका प्रमुख थिए, चिरिबाबु महर्जन । उनै चिरिबाबुलाई फेरी ललितपुरवासीहरुले हालै सम्पन्न पालिका निर्वाचनमा थप पाँच वर्षको लागि मेयर पदमा निर्वाचित गरेका छन् । उनको पहिलो कार्यकाल के कसरी बित्यो र अब के के काम गरेर नगरवासीको सेवा गर्दैछन् भन्ने जिज्ञासा सहित आर्थिकन्युज डटकमकर्मी सम्झना बरुवालले बार्ता गरेकी छिन् । प्रस्तुत छ, सो सम्बादको सम्पादित अंश :
पहिलो कार्यकालमा के–के गर्नु भयो, के– के गर्न बाँकी छ ?
विगतमा धेरै कामहरु भएका छन् । त्यसका कारण म फेरि पनि निर्वाचित भएँ । विगतमा गर्न नसकेको काम खासै छैन । जे योजना तयार गरेका थिर्यौं त्यो पुरा गयौं । हामीले फ्लाईओभरको सम्भावता अध्ययन गरायौं । काठमाडौंमा ल्यान्डिङ गर्ने ठाउँमा माइतीघर र त्रिपुरेश्वरमा जापान सरकारले फ्लाईओभर बनाइदिने र त्यसमा लगेर जोड्ने भनिएको थियो । उतातिर नबनेको कारणले यता हामीले हतारिनु पर्ने देखिएन । तसर्थ, अहिले उक्त योजनालाई हामीले स्थगित गरेका छौंं । पेन्डिङमा छ । उता बनेपछि हामी पनि सुरुवात गर्छौ । यो बाहेक हामीले प्रतिवद्धता गरेका काम मध्ये पुरा हुन नसकेका कामहरु अरु केहि छैनन् ।
अघिल्लो पाँच वर्ष र आगामी पाँच वर्षमा ललितपुर नगरवासीले के फरक पाउँछन् ?
पाँच वर्ष अघि यहाँ लगभग १७ वर्षसम्म कर्मचारीले शासन चलाएका थिए । त्यसैले, पहिलो कार्यकालमा हामी आउनासाथ काम गर्न सक्ने वातावरण थिएन । तर, अहिले त्यस्तो छैन । हामीसँग प्रोजेक्ट बैंकमा प्रशस्तै प्रोजेक्टहरु छन् । त्यसैले, हामीसँग के गर्ने र कसरी गर्ने भन्ने कुनै दुबिधा छैन। केही दिन पछि नगरसभा गठन हुन्छ । त्यसपछी नगरवासीले अनुभूत गर्ने गरि काम गर्छौं ।
ललितपुर महानगरभित्रका विश्व सम्पदामा सुचिकृत सम्पदाहरुको संरक्षण कसरी गर्नुभएको छ ?
बि.स. २०७२ सालको भुकम्पले सम्पदाहरुमा धेरै क्षति भएका थिए । क्षति भएका सम्पदाहरु लगभग सबै बनाइसकेका छौं । केही अहिले पनि बनिरहेका छन् । बनिरहेका प्रोजेक्टहरु सिद्धिएपछि भुकम्पले क्षति पुर्याएका सबै संरचनाहरुको पुननिर्माणको काम सकिन्छ ।
तर, निरन्तर रुपमा मर्मत सम्भार गर्नुपर्ने काम त भइ नै रहन्छ। त्यो भनेको हामीले लुगा फेरे जस्तै हो । महानगरको नयाँ योजना भनेको यहाँका पुराना सम्पदाहरुको व्यवस्थापन गर्ने हो । पर्यटकीय दृष्टिकोणबाट महत्वपुर्ण मानिएका पुराना घरहरुको पुनः निर्माणका निमित्त हामीले घरधनीहरुलाई सहयोग प्याकेज ल्याउन लागिरहेका छौ । आउँदो बजेटमा उक्त प्याकेजको पनि व्यवस्थापन गरेर अघि बढ्छौं । सम्पदाका रुपमा रहेका मठ, मन्दिर, शिवालय र देवालयहरु अब चांडै बनिसक्छन् ।
पुराना शहर भित्र विकास गर्ने के कस्ता योजनाहरु छन् ?
विकास गर्ने नाममा सम्पदाहरुको स्वरुप बिगार्ने काम गर्दैनौं । अहिलेको सन्दर्भमा यहाँको ठुलो समस्या भनेको यातायातको हो । त्यसको त्यसको निराकरणको लागी केन्द्रिय सरकार अघि सरेको छैन । यो पुरानो शहर त्यसमा पनि धेरै पर्यटकहरु आउने ठाउँमा मोटरसाइकलहरुले गर्दा पनि समस्या भइरहेको छ । यसका लागि अध्ययन गरेर गुरु योजना पनि बनाएका छौ । त्यसमा दिइएका सुझावहरुलाई एकैचोटी लगाउँदा गाह्रो होला । तर, विस्तारै काम अघि बढाउँछौ ।अहिले पनि धेरै ठाँउहरुमा एकतर्फी सडक गरेका छौं । साइकल लेन र मानिसहरुलाइृ हिड्ने बाटो बनाउनका लागि पनि काम भइरहेको छ ।
ललितपुरमा आधारभुत पुर्वाधारहरुको विकास कसरी गर्दै हुनुहुन्छ ?
नेपालको ६ वटा महानगरपालिका मध्येको भुगोलमा सबैभन्दा सानो महानगरपालिका हो, ललितपुर । जनसंख्या भने ठुलो छ । बिगतमा २२ वटा वडालाई समावेश गरेर उप महानगरपालिका बनाइएको थियो । हिजोको उपमहानगरपालिकाको क्षेत्रमा पुर्वाधारहरु लगभग बनिसकेका छन् । तिनीहरुलाई मर्मत मात्र गर्नुपर्छ ।
तर, गाँउपालिका र नगरपालिकाहरुका क्षेत्रमा अझै थुपै पुर्वाधारहरु बनाउन बाँकी छ । त्यहाँ भुगोल ठुलो छ, जनसंख्या सानो छ । त्यसले गर्दा पनि अहिले हिजोको उपमहानगरपालिकाको क्षेत्रमा महानगरसँगको तादम्यता मिलाउनका लागि बढी बजेट विनियोजन गरेका छौ । धेरै भन्दा धेरै परियोजनाहरु तयार पारेर महानगरको दाँजो ल्याउनका लागि बढि बजेट छ्ट्टयाएर लागि परेका छौ ।
यो वर्ष भित्रि सडकहरुमा धेरै काम गर्नुपर्ने छैन । थोरै मर्मत गरे पुग्छ। नयाँ ढल हाल्ने र बाटो बनाउनु पर्ने काम छैन । तसर्थ यतातिर हामीले थोरै बजेट विनियोजन गरेका छौं । पहिले नगरपालिका अन्तर्गत रहेका क्षेत्रहरुको निमित्त संघिय सरकार, प्रदेश सरकार र महानगरपालिकाको नगर स्तरीय योजना र मेयरको गौरवशाली योजना अन्तर्गत थुप्रै कार्यक्रमहरु कार्यान्वयन गर्दैछौ ।
नयाँ शहर निर्माण गर्ने लहर नै चलेको छ । ललितपुर महानगरपालिकाले भने नयाँ शहर निर्माणका योजनाहरु पनि रोक्यो । यसको कारण के हो ?
हाम्रो महानगरमा नयाँ शहर निर्माणका लागि भुगोेलले पनि दिँदैन । सरकारले पनि ललितपुरको बुंंमतीमा नयाँ सिटी निर्माण गर्ने भनेको थियो । यताका स्थानीयहरुले अवरोध गरे । तसर्थ, अहिले हाम्रो महानगरभित्रमा बस्ती विकास गर्नुपर्ने देखिएको छैन । केही जग्गा एकीकरणका योजनाहरु छन् । ती योजनाहरु सम्पन्न गर्न बाँकी छन् । नयाँ योजनाहरु अरु केही छैनन् ।
सरकारले सार्वजनिक सम्पत्तिहरुको संरक्षण गर्ने र खुल्ला स्थान बनाउने योजना ल्याएको छ । त्यस तर्फ के गर्दै हुनुहुन्छ ?
यसका लागि हामी राम्रो तयारीमा छौं । यसअघिको पाँच वर्षे कार्यकालमा यस नगरका सरकारी एलेनी जग्गा कसैलाई पनि हामीले दिएका छैनौं । सरकारले दिएको लगनखेलको जग्गा र सत्तपातालको १४ रोपनी जग्गा पनि त्यहाँ स्थानीयले मुद्दा लडेर जितेको हो । राजदलसँग मैले छलफल गरेर सत्तपातालको छेउमा रहेको लगभग ३० रोपनी जग्गा पनि फिर्ता लिएको छु। २ वर्ष पछि उक्त जग्गामा कमलको फूल फूलाउने योजना छ । हामीले एलेनी जग्गा कसैलाई पनि दिएका छैनौ ।
साइकल लेनको प्रयोग र व्यवस्थापन कसरी भइरहेको छ ?
सबैकुरा एकैचोटी पानी बगे जसरी बग्छ भन्ने उद्देश्य राखेका थिएनौं । हामीले साइकल लेन बनाएको बाटो पनि सानो छ । मछिन्द्रनाथको रथयात्रा नहुने हो भने यती चौडाइको बाटो पनि हुँदैन थियो । मछिन्द्रनाथको रुटको बाटोमात्र अलिक चौडा छ ।
महानगरलाई स्मार्ट सिटी बनाउने भनेर घोषणा गरेका छौं । स्मार्ट सिटी के हो भनेर कसैले सोध्नुपर्यो भने नेपालको आफ्नै परिभाषा छैन । संसारको ११६ वटा मुलुकले स्मार्ट सिटीको आ–आफ्नै परिभाषा गरेका छन् । तसर्थ, हामीले स्मार्ट सिटी भनेका शहरहरुमा हेर्दा सबै ठाउँमा साइकल लेन हुनेरहेछ ।
हामी पनि स्मार्ट सिटी बनाउने भन्ने अवधारणामा लागिपरेका हुनाले हामीले पनि साइकल लेन बनाउँनुपर्छ भनेर अन्तराष्टिय स्तरको १.६ मिटरको हुनुपर्नेमा ठाउँ, परिस्थिति र भुगोल हेरेर न्यारो डाउन गरेका छौ । साइकल लेनमा पनि दुई वटा कुरा हुन्छन् । सिअर लेनमा साइकलले पहिलो प्राथमिकता पाउँछ । डेडिकेटेड लेनमा साइकल लेनमा अरु गाडीहरु हिड्न पाउँदैन । यो कुरा अहिले हामीले लागु गर्नुपर्नेमा भुगोलले नदिएका कारणले डेडिकेटेड लाइन बनाएका छैनौ। जति छन्, सबै सेअरलेनहरु छन् । हामीले साढे ३२ किलामिटर सेअर लेन बनाइसकेका छौं । ती ठाउँहरुमा अरु गाडीहरु पनि पार्किङ गर्ने कामहरु भइरहेको छ । दुई वर्ष अघि नै बनाउने काम सकिसकेका छौं । पुनः पेन्ट गर्ने कामहरु भइरहेको छ ।
कुनै पनि काम नियमविपरित गर्यो भन्नका निमित्त ऐन चाहिन्छ । हामीसँग ऐन छैन । संघिय सरकारको पनि साइकल लेन सम्बन्धी ऐन छैन । प्रादेशिक सरकारको पनि छैन । तसर्थ, हामीले ऐन बनाएका छौं । नगरबाट पास हुन सकेको छैन । संविधानमा त कतै न कतै टेकेर हामी अघि बढौला तर संघिय सरकार र प्रादेशिक सरकारको ऐन हुनुपर्छ । हाम्रो ऐन अगाडी लानका लागि हामीलाई समस्या परिरहेको छ । यसो हेर्दा संघिय सरकारले बाइसाइकल लेन बनाउँदैन ।
प्रदेश सरकारले बनाउने कुरै छैन । त्यति बेलासम्म हामी चुपलागेर त बस्दनौ । उनीहरुले बनाएको कुरामा जुन किसिममा विरोधाभाष निस्किन्छ ती कुरारुहरुमा स्थानीय सरकारको ऐनको दफाबाट काटिन्छ । त्यो हिसाबले हामी आउँदो नगरसभामा पास गर्नका लागि कोशिस गर्दैछौं । ऐनहरु बनिसकेपछि अहिले देखिएका समस्याहरु विस्तारै हटेर जानेछन् ।
ब्लक नम्बरको कुरा कहाँ पुग्यो ?
ब्लक नम्बरको कुरामा १ देखि २९ वटा वडासम्म हिसाब गर्दा ८१ हजार घरधुरीरहेका छन् । ती घरहरुमा ब्लक नम्बर छैन । मेरै वडामा पनि १७ जना चिरीबाबुहरु छन् । मलाई त ‘वडा अध्यक्ष’ भनेर चिन्लान् । अरुलाई कसरी चिन्छन् । त्यसैले हामीले सडक सञ्जाल र जीपिएस प्रणालीमा आधारित ब्लक नम्बर वितरण गरिहेका छौं । ९० प्रतिशत काम सकिएको छ । १० प्रतिशत घरहरुमा काम भइरहेको छ । तसर्थ केही समयपछि ट्याक्सीहरुमा पनि जीपीएस प्रणाली जडान गरियो भने घरको ब्लक नम्बर देखाएको आधारमा ट्याक्सीले घरसम्म पुर्याइदिन्छ ।
ललितपुर महानगरमा खानेपानीको व्यवस्थापन कसरी गरिरहनु भएको छ ?
काठमाडौ र ललितपुरवासी मेलम्चीमा नै भर परेका छन् । गतवर्ष मेलम्ची आयो । फेरि बन्द गर्नुपर्यो । मेलम्ची क्षेत्रको भौगोलिक अवस्था पनि फरक छ । सरकारको प्रक्षेपण गत असारको वर्षातले मेलम्चीलाई जसरी क्षति पुर्यायो यो वर्ष पनि पुर्याउँछ भन्ने छ । मेलम्चीको भौगोलिक अवस्था थिलथिलो भइरहेको छ भन्ने सरकारको अनुमान हो। फेरी ठुलो पानी पर्यो भने बाढीले सुरुङमार्गमा पनि असर गर्छ । त्यसैले अहिले सुरुङमार्ग पनि बन्द छ ।
मेलम्ची आयोजनाको डिजाइन गर्दा ५० वर्षको वर्षाको रेकर्ड अनुसारको हो । तर, असार १ गतेको वर्षात ५० वर्ष भित्रको रेकर्ड भन्दा पनि ठुलो थियो।हाम्रो मनसुन पिरियड भनेको १२० दिनको हुन्छ । त्यो मनसुन घटिमा पनि १२० दिन बस्छ त्यस दौरानमा कम्तिमा पनि १५ सय मिलिमिटर पानी पर्छ । त्यो पानी परेको अवस्थामा मेलम्चीमा झन् धेरै पानी पर्छ । त्यसलाई थेग्न सक्ने डिजाइन भएन । तसर्थ अहिले ठुलो संकट आइपरेको छ । एशियन डेभलपमेन्टसँग ऋण लिएर बनाएको योजना ३ महिना पानी नआउने गरी रोकिदा उपत्यकाका ५० लाख जनसंख्यालाई ठुलो असर पर्छ। यसबारे पनि सोच्नुपर्छ ।
खानेपानीलाई एउटै स्रोतमा मात्र भर पर्नुहुँदैन । भुकम्पको जोखिमको हिसाबले पनि नेपाल एघारौ स्थानमा पर्छ । काठमाडौमा पनि ठुलो भुकम्पहरु गइरहेको छ । सुरुङमार्गबाट पानी ल्याउनुपर्छ । भुकम्पले सुरुङमार्ग बिग्रिन सक्छ । मेलम्चीको पानी आउन छोड्यो भने यसको विकल्प के भन्दा केही पनि हुँदैन । तसर्थ म आएपछि आजभन्दा चार वर्ष अघि नै मकवानपुरको सिस्नेरी खोलामा खेर गइरहेको १३ करोड लिटर पानीको डिपिआरका लागि बजेट छुट्याएका छौ ।
यसका लागि केयुकेएलसँग सहकार्य गरेर मेरै नेतृत्वमा गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकालाई समावेश गरेर त्यसतर्फ लागी परेका छौं । कहिले बनिसक्छ, यकिन छैन । तर, हामीले सुरुवात गर्न लागेका छौं । एउटै स्रोतमा मात्र भर परेर बस्नु हुँदैन । विकल्प पनि सोच्नुपर्छ । यताबाट पानी ल्याउन सक्यौ भने हामी एकतिरबाट भएपनि निर्भर हुनसक्छौं भनेर लागि परेका छौं । मेलम्चीको पानी नआएको खण्डमा विकल्पमा पानी खुवाउँछु भनेर मैले बोलेको छु । त्यो पुरा गर्छु ।
महानगरको करको सिमा कति छ । करको दायरा बढाउँदै हुनुहुन्छ ?
करको सन्दर्भमा हामीले संविधानले दिएको अधिकार बमोजिम नै कर उठाएका छौं । यो वर्ष १ अर्ब ५६ करोड रुपैयाँ उठाउने लक्ष्य रहेको छ । त्यति पैसा उठाउने सन्दर्भमा अहिलेसम्मको अवस्था हेर्दा लक्ष्य पुरा गछौं ।
पोहोर साल १ अर्ब ३१ करोड उठाउने लक्ष्य रहेको थियो । तर १ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । लक्ष्य भन्दा ३४ प्रतिशत बढी राजस्व उठ्यो । कोभिडको समयमा केही कर छुट पनि दियौं । कर तिर्न आएकालाई १० प्रतिशत छुट पनि दिएका थियौं । हरेक वर्ष लक्ष्य भन्दाबढि नै राजस्व संकलन भएको छ ।
जावलाखेमा रहेको चिडियाखाना अव्यवस्थित भयो । बस्ती पनि जोखिममा छ भनेर सार्ने कुरा थियो । यो योजना कहाँ पुग्यो ?
चिडिया खाना सार्ने भनेको धेरै भयो नेपालमा कुरा गर्छन्। काम गर्दैनन् । हामी पनि न लैजाओस् भन्ने चाहन्छौं । चिडियाखाना यहाबाट सार्यो भने सरकारले पक्कै पनि त्यहाँ मन्त्री क्वाटर बनाउँछ । अथवा अरु कुनै भौतिक संरचनाहरु बनाउँछ ।
सानो ठाँउ भएपनि अहिले ११ सय जलचर, थलचर जनावर र चराचुरुङगीहरु रहेका छन् । नेपालको एउटा मात्र चिडियाखाना ललितपुर महानगरपालिकामा हुनु हाम्रो लागि गौरवको कुरा हो । जावलाखेलको चिडियाखाना सूर्य विनायक सार्ने भन्ने कुरा मैले एसएसली दिने बेला देखी नै निस्किएको कुरा हो । अहिलेसम्म यसको कुनै तयारी देखिएको छैन । सूर्यविनायकको कुन ठाँउमा लगेर राख्छ मलाई थाहा छैन । अहिलेको अवस्थामा जग्गा पाउन पनि महाभारत छ ।
तसर्थ यो कुरा, कुरामै सिमित हुन्छ र सिमित नै होस् भन्ने चाहना पनि छ । त्यहाँ पुर्वाधारहरुको विकास गर्नुपर्ने कुरामा हामी सहयोग गर्न सधै तयार छौ । कोभिडको समयमा पनि मानिसहरु जान नसकेपछि त्यहाँका जनावरहरुलाई खुवाउने खाना पनि समस्या भएको भन्ने थाहा पाएपछि मैले १० लाख रुपैयाँ चन्दा दिएको थिएँ । धेरैले चिडियाघरका नीम्ति सहयोग गरे। धेरै पैसा उठ्यो ।
भनेपछि चिडियाखाना सार्नका लागि महानगर सहमत छैन ?
सकेसम्म नसारोस् भन्ने हाम्रो चाहना हो । हाम्रो मातहतमा त छैन । हामो भुगोलभित्र छ । त्यसको व्यवस्थापन हामीसँग छैन । सरकारले चिडियाखानाको व्यवस्थापनको जिम्मेवारी हामीलाई दियो भने राम्रोसँग सञ्चालन गर्ने क्षमता राख्छौ ।
पहिलेको तुलनामा बस्तीको हिसाबले पनि जोखिममा छ नी ?
बस्तीको हिसाबले चिडियाखानालाई जोखिम भन्ने कुरामा वातावरणीय प्रदुषणको कारणले सबैलाई जोखिम छ । म मेयर भएर आउनासाथ जावलाखेलको ग्राउण्डमा पनि विभिन्न स्कुलहरुको ग्रयाजुएशेनमा कन्सर्टहरु गर्ने गर्थे । नयाँ वर्ष मनाउने, दशैमा पनि ठुलो कन्सर्टहरु गर्थे । पुल्चोकसम्म त्यसले असर गरेको थियो । त्यसलाई मैले बन्द गर्न लगाए । अहिले बाघ भालु पनि आनन्दले सुत्न पाउँछन् ।
अहिले कुनै प्रकारको डिस्टर्बहरु छैन । हावाबाट हुने वातावरणीय प्रदुषण्ले भने असर गरिरहेको छ । जनावरलाई मात्र होइन तपाई हामीलाई पनि असर गरेको छ । यसलाई सुधार गर्न बान्छनीय छ । तसर्थ यसलाई नियन्त्रण गर्न पेट्रोज र डिजेलबाट चल्ने गाडीहरुलाई बन्द गर्ने बाहेक उपाय छैन । यी सवारी साधनहरु भविष्यमा बन्द हुन्छन् । दिगो विकासको अवधारणा २०२०–२०३० को लक्ष्यले २०३० सम्ममा बन्द गर्नुपर्छ भनेर बोलेको छ । तर, नेपालले २०३० होइन २०४० सम्म बन्द गर्ने भन्ने कुरा छ । जबकी कोरिया र जापानले २०२८ सम्ममा बन्दगर्ने भएको छ ।
यो भयो भने वातावरणीय सुधार होला । त्यसबेला चिडियाखानाका जनावरहरुलाई पनि सुधार होला । यस्ता कुराहरुलाई पनि सुधार गर्न वान्छनीय छ हाम्रो तर्फबाट पनि गर्न सक्ने कुराहरुमा हामी सधै तयार छौ ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
हालसालै चुनाव सिद्धियो । नगरवासीले मलाई अत्यधिक मत दिएर विजयी गराउनु भएको छ । धेरै नै विश्वास गनुभएको छ । उहाँहरुको विश्वासमा कुनै पनि किसिमको कमी कमजोरी नगरीकन पाँच वर्षमा राम्रो काम गरेर देखाउँछु । पाँच वर्षको दौरानमा ललितपुर महानगरपालिकामा मेरो नेतृत्वमा जे जति कामहरु भए त्यसको उच्च मुल्यांकन मिडियाले पनि गरेको छ । नगरवासीहरुले पनि मेरो काम देखेर जुन विश्वासका साथ मलाई जिताउनु भयो अझ राम्रो काम गरेर देखाउँछु भनेर सञ्चामाध्यम मार्फत आम नगरवासी समक्ष पुनः प्रतिवद्दता जनाउन चाहन्छु ।
प्रतिक्रिया दिनुहोस