aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

राष्ट्रपति, प्रधानमन्त्री लगायतका उच्च पदाधिकारीको कारोबार निगरानी गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ जेठ २०७९
राष्ट्रपति, प्रधानमन्त्री लगायतका उच्च पदाधिकारीको कारोबार निगरानी गरिने

काठमाडौं । राष्ट्र बैंकले नेपाल सरकारका प्रमखु राष्ट्रपति, प्रधानमन्त्रीदेखि लिएर उच्च पदस्थ विदेशी नागरिकहरुको कारोबार तथा सम्पत्ति निगरानीमा राख्ने भएको छ । सम्पत्ति शुद्धीकरण तथा आतकंवादी क्रियाकलापमा वित्तीय लगानी निवारणको लागि उक्त कदम चालिएको राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकका अनुसार सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्थालाई प्रभावकारीरुपमा कार्यान्वयनमा ल्याउनको लागि एकीकृत परिपत्रमा संशोधन गरिएको हो । यो व्यवस्थाअनुसार मुद्रा सटहीसम्बन्धी कारोबार गर्ने संस्थाले तयार गर्ने नीति, प्रक्रिया र अभ्यासमा जोखिममा आधारित प्रक्रियासहितको ग्राहक मूल्यांकन पद्धतिलाई आवश्यकताअनुसार लागू गर्ने हो । 

 ग्राहकको अद्यावधिक अभिलेख कायम गर्ने, कारोबार तथा अन्य विवरण सुरक्षित गर्ने, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४ (संशोधनसहित) तथा यसको निर्देशनको दफा २३ अनुसार वित्तीय जानकारी इकाईमा सीमासम्बन्धी कारोबार विवरण पठाउने, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४ (संशोधनसहित) वित्तीय जानकारी इकाइबाट जारी गरिएका कार्यविधि तथा मार्गदर्शन अनुरुपका शंकास्पद कारोबारको विवरण वित्तीय जानकारी इकाईमा पठाउने लगायतको आवश्यक तथा उपयुक्त व्यवस्था गर्नुपर्नेछ । 

त्यस्तै आतंकवादी क्रियाकलाप तथा आम विनाशकारी हातहतियारको निर्माण तथा विस्तारको वित्तीय लगानी नियन्त्रणसम्बन्धी व्यवस्था गर्ने, आतंकवादी क्रियाकलाप तथा आम विनाशकारी हातहतियारको निर्माण तथा विस्तारको वित्तीय लगानी सम्बन्धी विषयहरुको पहिचान, अनुगमन तथा प्रतिवेदनको लागि आवश्यक सघन कार्यप्रणाली अवलम्बन गर्नुपर्ने एवं निर्देशनको पालना गर्न आवश्यक पर्ने आन्तरिक नीति, प्रक्रिया, प्रणाली र नियन्त्रणका उपायहरुको तर्जुमा गर्नुपर्नेछ ।  

राष्ट्र बैंकका अनुसार जोखिममा आधारित प्रणालीको प्रयोग गरी ग्राहक मूल्यांंकन पद्धति कायम गर्नको लागि ग्राहक र ग्राहकको हितकारीको पहिचान गर्ने, ग्राहक र ग्राहकको हितकारीबारे आवश्यक सूचना संकलन गर्ने र आवश्यकताअनुसार ग्राहकको जोखिम विवरण तयार गर्ने, नयाँ ग्राहक स्वीकार गर्ने नीति लागू गर्ने, ग्राहक र ग्राहकको हितकारीको सूचना तथा विवरण नियमितरुपमा अद्यावधिक गर्ने गरिने छ । 

 जोखिमका आधारमा अर्थात् उच्च जोखिममा रहेका ग्राहकको लागि बृहत् तथा कम जोखिममा रहेका ग्राहकको लागि सरलीकृत ग्राहक पहिचान पद्धति लागू गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउनुपर्नेछ । नेपाल राष्ट्र बैंकले स्वदेशी तथा विदेशी उच्चपदस्थ व्यक्तिको रकम कारोबारबारे निगरानी राख्न बैंक तथा वित्तीय संस्था, इजाजतपत्र प्राप्त मनी चेन्जर, होटल, ट्राभल्स एण्ड टुर्स, टे«किङ, कार्गो, अस्पताल, एयरलाइन्सलगायतका निकायलाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्थालाई संशोधन गर्दै निगरानी गर्न निर्देशन दिएको हो ।

यसैबीच उच्चपदस्थ व्यक्तिको परिभाषा समेत गरेर निगरानी गर्न निर्देशन दिएपछि बैंक तथा वित्तीय संस्था, इजाजतपत्रप्राप्त मनी चेन्जर, होटल, ट्राभल्स एण्ड टुर्स, टे«किङ, कार्गो, अस्पताल, एयरलाइन्स लगायतका संस्थालाई काम गर्न सजिलो हुने भएको छ । राष्ट्र बैंकले स्वदेशी उच्चपदस्थ व्यक्ति भनेर राष्ट्रपति, उपराष्ट्रपति, मन्त्री, व्यवस्थापिका संसदका सदस्य, संवैधानिक निकायको पदाधिकारी पनि अनुगमन गरिने छ ।  नेपाल सरकारका विशिष्ट श्रेणी वा सो सरहका वा सो भन्दा माथिका पदाधिकारी, उच्च अदालतका न्यायाधीश वा सो भन्दा माथिल्लो तहको न्यायाधीश, उच्च राजनीतिज्ञ, राष्ट्रियस्तरको राजनीतिक दलको केन्द्रीय पदाधिकारी नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्थाको उच्च पदाधिकारी वा त्यस्तो जिम्मेवारी भएको वा पाएको व्यक्तिहरु हुन् भनेको छ । 

राष्ट्र बैंकले विदेशी उच्चपदस्थ व्यक्ति भनेर विदेशी राष्ट्र प्रमुख, सरकार प्रमुख, उच्च राजनीतिज्ञ, राष्ट्रियस्तरको राजनीतिक दलको केन्द्रीय पदाधिकारी, उच्च प्रशासक, उच्च न्यायिक अधिकारी, उच्च सुरक्षा अधिकारी तथा राज्य नियन्त्रित संस्थाको उच्च अधिकारी वा त्यस्तो जिम्मेवारी भएको वा पाएको व्यक्तिहरु हुन भनेको छ । 

राष्ट्र बैंकले बुधबार नेपाल राष्ट्र बैैंकको बैंकिङ विभागलगायत सम्पूर्ण प्रदेशस्थित कार्यालयहरु, विदेशी विनिमय कारोबार गर्ने अनुमतिप्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु, विदेशी विनिमय कारोबार गर्ने सम्पूर्ण रेमिट्यान्स कम्पनी एवं मनी चेञ्जर कम्पनीहरु एवं विदेशी विनिमय कारोबार गर्ने सम्पूर्ण कम्पनीहरुको नाउँमा परिपत्र जारी गर्दै सम्पत्ति शुद्धीकरण सम्बन्धी एकीकृत परिपत्र २०७८ मा संशोधन गरेको जानकारी दिएर निगरानीमा राख्नुपर्ने व्यक्तिबारे समेत जानकारी गराएको हो । 

मुद्रा सटहीसम्बन्धी कारोबार गर्ने संस्थाले बेनामी तथा काल्पनिक नाममा कारोबार गर्ने वा गर्न खोज्ने कुनै पनि व्यक्तिसँग कारोबार गर्न नहुने एवं मुद्रा सटहीसम्बन्धी कारोबार गर्ने संस्थाले आफ्ना ग्राहक तथा हितकारीको वास्तविक परिचय थाहा पाउनुपर्नेछ । राष्ट्र बैंकका अनुसार विदेशी मुद्रा सटहीसम्बन्धी कारोबारमा ग्राहक भन्नाले व्यावसायिक सम्बन्ध भएका, एकपटक वा पटकेरुपमा तोकिएको सीमा वा सोभन्दा बढी कारोबार गर्ने, कारोबार गर्दा कुनै समयमा सो व्यक्ति सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानीसम्बन्धी कार्यमा संलग्न भएको वा हुनसक्ने आशंका रहेको कारोबार व्यवस्थामा संलग्न भएको व्यक्ति समेतलाई जनाउनेछ । 

यसैगरी राष्ट्र बैंकले मुद्रा सटहीसम्बन्धी कारोबार गर्ने संस्थाले व्यावसायिक सम्बन्धका लागि अनुरोध गर्दा, निश्चित सीमाभित्रको पटके कारोबार गर्दा, कुनै व्यक्ति शंकास्पद कारोबार वा कार्यमा संलग्न भएको पाइएमा र कुनै व्यक्तिको सम्बन्धमा पहिले नै प्राप्त गरिसकेको पहिचानसम्बन्धी कागजातमा कुनै शंका वा द्विविधा उत्पन्न भएमा आवश्यक परिचय लिने र सोको उचित परीक्षण गरी रेकर्ड समेत कायम गर्नुपर्नेछ ।  

यसैगरी राष्ट्र बैंकले वास्तविक धनी पहिचान गर्नको लागि कुनै ग्राहकले एक वा एकभन्दा बढी वास्तविक धनीको लागि कारोबार गरिरहेको कुरा सुनिश्चित गर्नको लागि संस्थाले आवश्यक मापदण्डहरु निर्धारण गर्नुपर्नेछ । यदि कुनै ग्राहकको वास्तविक धनी कुनै व्यक्ति भएमा मुद्रा सटहीसम्बन्धी कारोबार गर्ने संस्थाले त्यस्ता वास्तविक धनी पहिचानको लागि आपूm सन्तुष्ट हुने गरी आवश्यक सूचना तथा तथ्यांक विभिन्न स्रोतबाट प्राप्त गरी सोको पुष्टि समेत गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस