
काठमाडौँ — खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले लौका परीक्षण गरेको ८७ हजार राजश्व दाखिला गर्न पत्रचार गरेको छ । खाद्यले वाणिज्य आपूर्ति तथा उपभोक्ता सरक्षण विभागलाई उक्त रकम दाखिला गर्न पचत्रार गरेको हो ।
‘लौकामा विषादी प्रयोग भएको उजुरी परेपछि नमुना संकलन गरी खाद्य प्रविधिमा पठाएको थियो,’ आपूर्ति विभागका अनुगमन शाखा निर्देशक शोभाकर रेग्मीले भने, ‘तर लौका परीक्षण गरेको बिल ८७ हजार रुपैयाँ उठेको छ।’
खाद्य विभागका पत्र अनुसार प्रयोगशालाबाट ३ वटा लौकामा २९ पारामिटर परीक्षण गरिएको छ। उक्त लौकामा भने विषादी फेला परेको छैन। ‘लौका परीक्षणको प्रतिवेदन यही पत्रसँग पठाएका छौं। त्यहाँबाट प्राप्त पत्रमा गुणस्तर परीक्षण बापत लाग्ने शुल्क प्रतिवेदन प्राप्त भएपछि भुक्तानी गरिने भनिएकाले नेपाल सरकारबाट निर्धारण गरेको गैरकर राजश्व प्रति प्रस्टिसाइड १ हजारको दरले जम्मा ८७ हजार राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा राजश्व दाखिला गरी दिन हुन अनुरोध छ,’ खाद्य प्रविधिले आपूर्ति विभागलाई पठाएको पत्रमा उल्लेख छ।
आपूर्ति विभागका महानिर्देशक योगेन्द्र गौचनका अनुसार नख्खुका एक उपभोक्ताले प्रतिभा फलफूल तरकारी होलसेल बजारबाट लौका खरिद गरेको थियो। लौका पकाएपछि खानेबेला तितो स्वाद, वाकवाकी र पखाला चलेको उजुरी गरेको थियो। ‘अर्को एक उपभोक्ताले सोही तरकारी खादा त्यस्तै भएको उजुरी आयो। एक जना अस्पतालमा भर्ना गरेको उजुरी परेपछि राति साढे ८ बजे नै टोली खटायो,’ विभागका महानिर्देशक गौचनले भने, ‘ती उपभोक्ताले खरिद गरेको पसलबाट लौका परीक्षण गर्न दिएका थियौ। परीक्षण गरेको राजश्व ८७ हजारको पत्र आएको छ।’
खाद्य प्रविधि विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले अर्थ मन्त्रालयले स्वीकृत गरेको नियमअनुसार शुल्क लिएको बताए। उनले लौकाको तीन वटा नमुना परीक्षण गर्दा ८७ हजार भएको दाबी गरे। ‘३ वटा नमुनाको २९ वटा पारामिटरको परीक्षण गर्दा ८७ हजार भएको हो,’ प्रवक्ता महर्जनले भने, ‘यो नियम नै हो।’ उनका अनुसार खाद्य प्रविधिका निरीक्षक अधिकृतले अनुगमन र संकलन गरेको नमुनामा भने शुल्क लाग्दैन। अन्य निकाय र सर्वसाधारणले परीक्षणको लागि ल्याउने नमुनामा प्रति पारामिटर १ हजार लाग्ने उनले बताए। यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको हो ।
प्रतिक्रिया दिनुहोस