aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 

अरुण तेश्रोमा कार्यरत मजदुरको रहस्यमय मृत्यु, आफन्तले बुझ्न मानेनन् शव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ असार २०७९
अरुण तेश्रोमा कार्यरत मजदुरको रहस्यमय मृत्यु, आफन्तले बुझ्न मानेनन् शव

संखुवासभा । गत शनिबार कैलालीको लम्कीचुवा नगरपालिका–३ चिसापानीका ५० बर्षिय अमर बहादुर महतारा अरुण तेस्रोको ड्याम साइड फ्याक्सिन्दा क्याम्प नजिकै मृत अवस्थामा फेला परे ।

संखुवासभामा निर्माणाधीन ९ सय मेगावटको अरुण तेस्रो आयोजनाको ड्याम साइड मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा कार्यरत मजदुर अमर बहादुर मृत फेला परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । शनिबार मृत फेला परेको अमर बहादुरको शव आफन्तले बुझ्न नमानेपछि चार दिन देखि जिल्ला अस्पतालमै छ ।

अरुण तेस्रोमा कार्यरत अमर बहादुरको रहस्यमयी मृत्यु भएको भन्दै आफन्तले चार दिन शव बुझ्न मानेका छैनन् । आफ्नो श्रीमानको रहस्यमयी मृत्यू भएको भन्दै कैलालीबाट श्रीमती संखुवासभा आई पुगेकी छन् । शनिबार दिउँसो मृत फेला परेका अमर बहादुरको शव प्रहरीले जिल्ला अस्पतालमा ल्याएको थियो । आफ्ना श्रीमानको मृत्यु रहस्यमयी भएको मृतककी श्रीमती कमला महताराले बताइन् । घटनाकोबारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक सरोज कोइरालाले जानकारी दिए । 

प्रहरी जानकारी नै नदिई लाश उठाएको श्रीमती कमलाको भनाइ छ । अमर बहादुर गत जेठ १२ गते अरुण तेस्रोमा काम गर्ने संखुवासभा आएका थिए । अरुण तेस्रोले क्षतिपुर्ती नदिएसम्म शव नबुझ्ने पीडितका आफन्तले बताए । घटनाका विषयमा कम्पनी जिम्मेवार नभएको उनीहरुको आरोप छ । न्याय माग्दै मृतककी श्रीमती सहित आफन्तहरु जिल्ला प्रहरी कार्यालय र प्रशासन कार्यालयमा घटनाको छानविन गर्न लिखित माग समेत गरेका छन् ।

फोन मार्फत शव बुझेर लैजान पटक पटक दबाब दिने गरेको उनीहरुको भनाई छ । घरैबाट कामदारको रुपमा निर्माण कम्पनीले ल्याएको उनकी श्रीमतिले बताईन् । जबरजस्ती तरिकाले गाडी भाडासमेत लगाएर ठेकेदार कम्पनीका बालेन्द्र शाही नामका ब्यक्तिले ल्याएको उनको दावी छ । मृतक परिवारलाई उचित क्षतिपुर्ती दिलाउन प्रयास गरिरहेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए ।

अरुण तेस्रो जलविद्युत् परियोजनामा भारतिय र नेपाली सहित तीन हजार भन्दा बढी मजदुर कार्यरत छन् । कुल १ खर्ब ४४ अर्ब रुपैयाँ लागत निर्माण भइरहेको अयोजनाको काम २०२४ मा उत्पादन सुरु गर्ने लक्ष लिएको छ । अरुण तेस्रो जलविद्युत्को निर्माणको काम भारतीय सतलज जलविद्युत निगम ९एसजेभिएन०ले गरिरहेको छ । राजधानी दैनिक  

प्रतिक्रिया दिनुहोस