
काठमाडौं । ‘धर्म’ मानिसको जनजीवनमा गहिरोसँग जोडिएको विषय हो । धर्मभिरुहरु यसलाई जीवनको अङ्ग नै मान्छन् भने भौतिकवादीहरु कार्ल माक्र्सको शब्द सापट लिँदै ‘अफिम’ भन्छन् । तर, जब धर्मको सहायक बनेर संस्कृतिको कुरा आउँछ कुरा अर्कै हुँदोरहेछ । अझ आर्थिक विषय जोडिएपछि त सबै पर्खालहरु भत्किँदा रहेछन् ।
यो अभिव्यक्ति प्रमाणित गर्ने एउटा वस्तु रहेछ, ‘पोते’ । पोतेको उत्पादनदेखि उपभोक्तासम्म आईपुग्दा यसले पूरा गर्ने शृंखलामा तीनवटा प्रमुख धर्म को अचम्म लाग्दो समिश्रण देखिन्छ ।
हिन्दू संस्कृतिअनुसार सौभाग्यको प्रतिक पनि हो, ‘पोते’ । यही कारणले हिन्दू महिलाले विवाहकै दिनदेखि आफ्नो सौभाग्यको परिचय गराउन पोते लगाइरहन्छन् । हिन्दू महिलाले आफूलाई विवाहित रहेको पहिचान गराउन चुरा, पोते लगाउने र अन्य श्रृंगार गरिरहेकी हुन्छिन् ।
हिन्दू महिलाले लगाउने पोते क्रिश्चियनले उत्पादन गर्छन् । यसलाई मुस्लिम समुदायले आकर्षक डिजाइनमा तयार गर्छन् । अनि प्रयोगकर्ता चाहिँ हिन्दू महिला रहेका छन् । यसरी हेर्दा सानो पोतेले पनि धार्मिक आस्थाको सिमा तोडेर सहिष्णुता कायम गरेको देखिन्छ ।
काठमाडौं उपत्यकालगायत देशका अन्य क्षेत्रमा चुरा–पोतेको व्यापारमा संलग्न धेरैजसो मुसलमान समुदायका छन् । काठमाडौंको इन्द्रचोक, पाटनको मंगलबजार र भक्तपुरको सुकुलढोकामा बसेर उनीहरू हिन्दू महिलाको सौभाग्यको प्रतीकको व्यवस्था गर्दै आएका छन् ।
यसरी धर्म फरक, संस्कार फरक, संस्कृति र आस्था फरक तर एउटा पोतेले हिन्दू, क्रिस्चियन र इस्लाम धर्मलाई एउटै मालामा उनेको छ ।
त्यसो त धर्मप्रति कट्टर मानिने मुसलमान र क्रिस्चियनहरू नेपालमा धार्मिक सहिष्णुताको अनुपम उदाहारण पेश गरेर आफ्नो कारोबार सञ्चालन गरिरहेका छन् । हिन्दू चाडपर्व आएसँगै उनीहरू नेपाली महिलाहरूका लागि चाहिने पोते, चुरालगायतका गहनाको व्यवस्थामा व्यस्त हुन्छन् । न त उनीहरूलाई कुनै धर्मले त्यस्तो गर्न रोक्छ न त कुनै समाज र संस्कृतिले ।
हिन्दू नेपाली महिला पनि निर्धक्क रूपमा क्रिस्चियनले उत्पादन गरेको मुस्लिमले डिजाइन गरेको पोते बजारमा किनिरहेका हुन्छन् । उनीहरु कुनै हिच्किचाहट राख्दैनन् न त त्यो पोतेको शुद्धताप्रति नै चासो राख्छन् ।
मल्लकालदेखि नै तीन धर्मबीच शुरु भएको यो आत्मीय इतिहास अहिलेसम्म पनि उस्तै छ । विशेषगरी नेवारी समुदायसँग घुलमिल भएको मुसलमान समुदाय अहिले आफूलाई नेवार मुस्लिमका रूपमा चिनाउन चाहन्छन् किनकी धार्मिक रुपमा मुसलमान भए पनि नेवारी संस्कृतिसँगको सामिप्यता पनि उत्तिकै छ ।
काठमाडौंको एकदमै व्यस्त मानिने शहर इन्द्र चोकमा रहेको पोते बजारमा प्रायः सबै मुस्लिम धर्मावलीहरुले पोतेको व्यापार गर्दै आएका छन् । असन इन्द्रचोकमा पोतेको व्यापार गर्दै आएका निहाल उद्दीन भन्छन–‘ पोते भनेको क्रिस्चियन मुलुकमा उत्पादन भएर मुस्लिमहरुले डिजाइन दिने र हिन्दू महिलाले शृङ्गारको साधन हो । हिन्दू महिलाको सौभाग्यको पहिचान गराउने पोतेलाई हामीले डिजाइन गरेर बिक्री गर्ने वस्तु मानेका छौं । हामी त व्यापार मात्रै गर्ने हो, लगाएर सजिने चाहिँ हिन्दू महिला नै हुन् ।’ हिन्दू महिलाको सौभाग्यलाई सजाइदिनेमा क्रिस्चियन र मुस्लिमको ठूलो भूमिका रहेको छ ।
पोतेलाई विवाहित महिलाको मौलिक पहिचान मानिन्छ । यसले शुभमंगल, सौभाग्य र दीर्घायूको बोध गराउने सांस्कृतिक विश्वास रहेकोछ । अझ रातो पोतेले त अनुहार नै उज्यालो बनाउँछ भन्छन, महिलाहरु । रातो रङलाई शक्ति तथा ऊर्जाको प्रतीक मानिन्छ ।
यसले ब्रत बसेका बेला शरीरमा एक किसिमको ऊर्जा दिन्छ भन्ने विश्वास गरिन्छ । विभिन्न चाडपर्वलाई लक्षित गर्दै अहिले बजारमा विभिन्न डिजाइनका पोते उपलब्ध छन् ।
रातो, पहेँलो, हरियो तथा गुलाबी रङमा उपलब्ध पोतेले वातावरणलाई नै चकमक बनाउँछ । अहिले बजारमा साधारण एक लुङदेखि लिएर अंगुर, आकार, चक्रमाला, माछीकाँडा एवम् क्रिस्टलका पोते भित्रिएका छन् । अहिले आफूले लगाएको साडीको रङसँग मेल खाने पोते लगाउने चलनसमेत बढ्दो छ ।
समयको गतिसँगै हरेक कुरामा परिवर्तन हुँदैछ । दैनिकजसो फेरिने डिजाइनले मानिस प्रभावित हुन्छन् । गहनापे्रमीहरू पनि नवीन डिजाइनका गहना लगाउन रुचाउँछन् । साउन महिनामा प्रायः महिलाले हरियो पोते लगाउन मन पराउँछन् । हरियो रङमा उनिएको पोते लगाउँदा सुख–शान्ति एवं समृद्धि प्राप्त हुने विश्वास छ ।
प्रतिक्रिया दिनुहोस