
काठमाडौं । नेपाली सेनाले बहालवाला एवं अवकाशप्राप्त सैनिक र तिनका परिवारका लागि व्यावसायिक कृषि तथा पशुपालन तालिम प्रदान गर्ने भएको छ ।
शुक्रबार सैनिक मुख्यालय जंगीअड्डामा कल्याणकारी योजना निर्देशनालयले गरेको पत्रकार सम्मेलनमा सैनिक कल्याणकारी कोषअन्तर्गत् कृषि तथा पशुपालन तालिम दिन लागिएको जानकारी दिइयो ।
लमजुङस्थित सिउँडीबारमा आउँदो भदौ २ गतेदेखि तालिम सन्चालन गर्ने निर्देशनालयका प्रमुख सहायक रथी सागरबहादुर केसीले जानकारी दिए ।
वार्षिक १२० जनालाई निःशुल्क तालिम उपलब्ध गराउनुका साथै छोटो अवधिको कृषिसम्बन्धी व्यावसायिक तालिमका लागि चारजनालाई जापान पठाउने र ४० जनालाई जापानी भाषाको तालिम दिइरहेको उनले बताए ।
यस्तै, बहालवाला सैन्य परिवार र एकल महिला गरी १० जनालाई स्वरोजगार बनाउन भारतका विभिन्न सहरमा परिकारसम्बन्धी तालिम जारी रहेको छ ।
सहायक रथी केसीले विकास निर्माणका लागि आवश्यक विस्फोटक पदार्थ उत्पादनमा आत्मनिर्भर बनाउन इमल्सन प्लान्टको क्षमता वृद्धि गरेको जानकारी दिए ।
उनले भूकम्पपीडितका लागि सुलभ कर्जा वितरणसमेत गरेको जानकारी दिए ।
कोषको एक करोड ५१ लाख रुपैयाँमात्र अतिजोखिममा रहेको भन्दै सहायक रथी केसीले लगानी गरेको रकमसहित ४४ अर्ब २१ करोड ९० लाख ४० हजार रुपैयाँ कोषको यथार्थ सम्पत्ति रहेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस