काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमाको भुक्तानीका लागि कार्यतालिका तय गरिएको जानकारी दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक अन्तर्गत अर्थमन्त्रालयसँग सम्बन्धित विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री शर्माले कोरोना बीमाको भुक्तानीका लागि कार्यतालिका तय गरिएको जानकारी दिएका हुन् ।
त्यस्तै, उनले बजेट निर्माणका क्रममा कुनै पनि राष्ट्रघात नभएको स्पष्ट पारेका छन् । अर्थमन्त्री शर्माले बजेट निर्माणको क्रममा गोप्यता कायम राखिएको तथा अनधिकृत व्यक्तिको पहुँच तथा संलग्नता नरहेको बताए । उनले भने, “अहिलेको बजेटमा न राष्ट्रघात भएको छ, न गद्दारी भएको छ । एउटा प्रक्रियामा गएर नै बजेट निर्माण गरिएको हो । करको दरलाई लिएर जुन राजनीतिक मुद्दा बनाउन खोजिएको छ । यो राजनीतिक कुरा नभई अराजनीतिक विषय हो ।”
उनले बजेटका गोपनीयता कायम राखिएको स्पष्ट पारे । “कुनै गोपनीयता भङ्ग भएको छैन । सम्बन्धित तहका कर्मचारीले नै बजेट बनाउने हो । म जवाफदेही छु । जिम्मेवार छु । बजेटमा राष्ट्रघात होइन, स्थिरतातर्फ लैजाने गरी मार्गदर्शन गरिएको छ”, उनले भने ।
प्रतिक्रिया दिनुहोस