
काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) पाँच दिने रुस भ्रमण सकेर स्वदेश फर्केका छन् । रुस सरकारको औपचारीक निमन्त्रणामा रुसको भ्रमणमा जानुभएका मन्त्री अथक शुक्रबार बिहान स्वदेश फर्केका हुन् । स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपस्थित संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री अथकले भ्रमण पूर्ण रुपमा उपलब्धिमुलक भएको प्रतिक्रिया दिएका छन् ।
रुससँगको ६६ वर्ष लामो कुटनीतिक सम्वन्धमा यस भ्रमणले खेलकुद डिप्लोमेसी मार्फत थप सुदृढ र सुमधुर सम्बन्ध स्थापित हुनेमा उनले विश्वास व्यक्त गरे । भ्रमणका दौरान रुसका समकक्षीसँग दुईदेशीय हितको विषयमा विशेष छलफल भएको र रुसले नेपालको खेलकुद क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता समेत जनाएको मन्त्री अथकले बताए ।
रुसका खेलकुद मन्त्री आलेग भासिलिभिचको विशेष निमन्त्रणामा पहिलो पटक रुसको औपचारीक भ्रमण गरेका मन्त्री अथक र भासिलिभिच बिच नेपालको उच्च पहाडी क्षेत्रमा खेल पूर्वाधार निर्माण, खेलाडी तथा प्रशिक्षकको क्षमता अभिवृद्धि, दुबै देशबिच मैत्रिपूर्ण तथा प्रतिष्पर्धात्मक खेलहरुको आदान–प्रदान तथा नेपाली खेलाडी र विद्यार्थीलाई खेल विज्ञान पढ्नकालागि छात्रवृत्ति सहयोग लगाएत विषयमा छलफल भएको थियो ।
छलफल पश्चात “रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजना” मा दुई पक्षिय सहमती समेत भएको उनले जनाएका छन् । रुस भ्रमणका क्रममा मन्त्री अथकले गैरआवासीय नेपाली संघ (एनआरएन) का पदाधिकारीहरुसँग समेत भेटघाट गर्नुभएको थियो । नेपालमा लगानिको वातावरण बन्दै गईरहेकाले देशको आर्थिक विकासकालागि सरकारको साझेदार बन्न रुसमा रहेका नेपालीहरुलाई आग्रह गरेको मन्त्री अथकले बताए ।
मन्त्रालयका सचिव डा. दामोदर रेग्मी सहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै औपचारिक भ्रमणकालागि गत सोमबार रुस प्रस्थान गरेका मन्त्री अथक शुक्रबार बिहान स्वदेश फर्केका हुन् ।
प्रतिक्रिया दिनुहोस