मिनि संसदको रूपमा रहेको संसदको शिक्षा तथा स्वास्थ्य समितिले एमबीबीएस अध्ययनका लागि ३१ लाख रुपैयाँसम्म निर्धारण गर्ने गरी प्रतिवेदन ल्याउने अन्तिम तयारी थालेको छ । समितिले प्रतिवेदनमार्फत एमबीबीएस अध्ययनका लागि २८ देखि ३१ लाखसम्म मात्रै लिन पाउन व्यवस्था गराउन सरकारलाई निर्देशन दिने तयारीसमेत थालेको छ ।
मेडिकल शिक्षा (एमबीबीएस) अध्ययनका लागि २८ लाखदेखि ३१ लाखसम्म शुल्क निर्धारण गर्ने गरी प्रतिवेदन ल्याउने तयारी भइरहेको मेडिकल कलेजको शुल्क विवादलगायत विविध विषयमा अध्ययन गर्न गठित उपसमितिका संयोजक सुरेशकुमार राईले बताएको खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।
उनले भने, ‘१५० सिट संख्या क्षमता भएका मेडिकल कलेजहरुले ३० जना अनिवार्य छात्रवृत्ति र २० देखि ३० जना विदेशी विद्यार्थीहरु भए भने अन्य विद्यार्थीको शुल्क २८ देखि ३१ लाख रुपैयाँ लिन सकिन्छ । १ हजार ५ सयदेखि २ हजार ५ सय बिरामी सम्बन्धित मेडिकल कलेजको अस्पतालमा आउनुपर्ने हुन्छ । उनले मेडिकल कलेजहरुले स्कुल, ल्याब, बेसिक साइन्स, भौतिक पूर्वाधार, फ्याकल्टीलगायतमा सम्झौता गर्न नहुने बताए ।
प्रतिक्रिया दिनुहोस