
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन सल्यान जिविसका स्थानीय विकास अधिकारी पेशल पोखरेलसहित ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सल्यानको साविक काप्रेचौर गाविस–७ घुइयावारीस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको भवन निर्माणमा हिनामिना गरेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।
साविक जिल्ला विकास समितिको कार्यालय सल्यानका तत्कालीन स्थानीय विकास अधिकारी पेशलकुमार पोखरेल, लेखा अधिकृत रामकुमार पौड्याल, इन्जिनियर गज्जुबाबु श्रेष्ठ, सब–इन्जिनियर दोर्णप्रसाद रजौरे, असिष्टेन्ट ओभरसियर फलेन्द्र डीसी, काप्रेचौर गाविसका सचिव टेकबहादुर डाँगी (क्षेत्री) तथा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर घर्तीका सम्बन्धमा अनुसन्धान भएको थियो ।
यसैगरी नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक खलबहादुर चलाउने क्षेत्री, उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर रावत, उपभोक्ता समितिका सचिव डम्मरबहादुर पुन, उपभोक्ता समितिका कोषाध्यक्ष निमाकुमारी विकलगायतका सम्बन्धमा अनुसन्धान भएको थियो ।
तत्कालीन स्थानीय विकास अधिकारी पोखरेल र लेखा अधिकृत रामकुमार पौड्यालले ५ लाख २२ हजार ५ सयको झुठा बिल भरपाई एवं झुठा कागजात पेश गरी भुक्तानी गरेको पाइएको छ ।
साविक काप्रेचौर गाविसका तत्कालीन सचिव टेकबहादुर डाँगी (क्षेत्री) ले ४ लाख रुपैयाँको झुठा बिल भरपार्ई एवं झुठा कागजात पेश गरी भुक्तानी गरेको बताइएको छ । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस