
काठमाडौ । पूर्वमन्त्री एवं सांसद महेश बस्नेतले निर्माण व्यवसायीहरुको गल्तीका कारण सिंगो सरकारले नै गाली खानुपरेको बताउँदै जिम्मेवारी बोध गरी काम गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो–‘निर्माण व्यवसायीहरु सरकारका प्रतिनिधि हुन् त्यसैले जिम्मेवारी लिएर काम गर्नुपर्छ ।’
नेपालमा पूर्वाधार निर्माणमा विभिन्न खाले समस्यालाई सम्बोधन गर्ने उद्देश्यले आयोजित “पूर्वाधार निर्माणका चुनौती र अब लिनुपर्ने बाटो” विषयक छलफल कार्यक्रममा उहाँले भौतिक पूर्वाधार निर्माण जनताको माग र सरकारको प्राथमिकता भएको बताउँदै निर्माणका क्षेत्रमा देखिएका विविध समस्याहरुलाई न्यूनीकरण गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।
निर्माण क्षेत्रमा काम गर्दा सार्वजनिक खरिद ऐनमा, दररेटमा र तोकिएकै समयमा सम्पन्न नहुनेलगायतका समस्याहरु रहेकाले यस्ता समस्यालाई तत्काल समाधान गर्नुपर्नेमा उहाँको जोड थियो ।
भौतिक पूर्वाधार मन्त्रालयमा बैधानिक अनियमितता भएको भन्दै निर्माण क्षेत्रमा अझैपनि पिपि सिस्टम रहेकोले यसले निर्माण क्षेत्रकै नकारात्मक विम्व बनाएकोले तत्काल रोक्नुपर्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो–‘पिपि सिस्टम अन्त्य गर्नुपर्छ बरु मापदण्ड बनाएर योगदानको आधारमा कर्मचारीहरुलाई भत्ता दिऔं ।’
त्यसैगरी कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वाधार हेर्ने माननीय सदस्य डा। केपी ओलीले मुलुकमा ठुला ठुला राजनीतिक परिवर्तनहरु भएपनि हाम्रो सोँचमा परिवर्तन हुन नसक्दा पूर्वाधार निर्माणका क्रियाकलापहरु प्रभावकारी हुन नसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो –‘विभिन्न राजनीतिक परिवर्तनहरु भए तर हाम्रो सोँच विचारमा परिवर्तन हुन नसक्नु नै मूल समस्या हो ।’ भन्दै उहाँले हामी सबैमा मुलुक बनाउनुपर्छ भन्ने भावनाको विकास भएमात्र मुलुकको विकास हुन्छ भन्नुभयो ।
मुलुकमा हाल २१ वटा राष्ट्रिय गौरवका आयोजनाहरु निर्माणधिन अवस्थामा रहेकाले यस्ता आयोजनाहरु चाँडै सम्पन्न भएमात्र मुलुकले भौतिक पूर्वाधार निर्माणको लक्ष्य प्राप्त गर्न सक्ने बताउनुभयो ।
राष्ट्रिय गौरवका आयोजना निर्माणका क्रममा विविध समस्याहरु रहेपनि लक्ष्य प्राप्तीका लागि आयोजनाहरु अगाडि बढाउनुपर्नेमा उहाँको जोड थियो । यसै प्रसङ्गमा उहाँले हाल निर्माणकै क्रममा रहेको सिक्टा सिंचाई आयोजना सम्पन्न भएपछि १ लाख ४२ हजार हेक्टर जमिनमा सँधैभरी सिंचाई गर्न सकिन्छ ।
यसैगरी सबै राष्ट्रिय गौरवका आयोजनाहरु सम्पन्न भएमा मुलुकको लक्ष्य समेत पूरा हुने भएपनि तोकिएकै समयमा काम सम्पन्न नहुने समस्या रहेको तर्क गर्नुभयो । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस