aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 

बालेन्द्र साहले सार्वजनिक गरे चुनावी खर्च, के मा कति खर्च भयो ?

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • मंगलबार, ०७ असार २०७९
बालेन्द्र साहले सार्वजनिक गरे चुनावी खर्च, के मा कति खर्च भयो ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् ।

स्थानीय तह निर्वाचन सम्पन्न भएको एक महिनापछि सोमबार बालेन्द्रले सार्वजनिक गरेको निर्वाचन खर्च विवरणमा तीन लाख ९४ हजार ४८९ रुपैयाँ खर्च भएको उल्लेख छ ।  

निर्वाचन आयोगले महानगरपालिकाको प्रमुख तथा उपप्रमुखले अधिकतम ७ लाख ५० हजारसम्म खर्च गर्न पाउने सीमा तोकेको थियो ।

बालेन्द्रले निर्वाचनका क्रममा मतदाता नामावली खरीदमा एक हजार, सवारी साधनमा ९२ हजार, सवारी इन्धनमा ७ हजार ६५४, प्रचार प्रसार सामाग्रीमा ९२ हजार ८५, ढुवानीमा २ हजार ५ सय, गोष्ठीरकार्यकर्ता परिचालनमा १ लाख १३ हजार ५ सय, अन्य प्रचार प्रसारमा ४० हजार, कार्यालय सञ्चालनमा १७ हजार २५० र विविध शीर्षकमा २८ हजार ५ सय रुपैयाँ खर्च गरेको विवरणमा उल्लेख गरेका छन् ।

खर्चको विवरण केही समय अगाडि नै सार्वजनिक भइसक्नुपर्ने भए पनि विभिन्न कारणहरुले ढिलो भएकोमा माफी मागेका छन् ।

उनले मतगणनामा ढिलाई हुँदा यो समयमामात्रै १ लाख भन्दा बढी भएको भन्दै गुनासो गरेका छन् । ‘मतगणना ढिलो भएर निर्वाचन प्रक्रियालाई लामो र बोझिलो मात्रै बनाएको छैन, उम्मेदवारका लागि महंगो बनाइरहेको छ। यसमा सबैको ध्यान जान जरुरी छ,’ उनले भनेका छन् ।  

महानगरवासीले दिएको मतलाई जिम्मेवारीपूर्वक सदुपयोग गर्ने बालेन्द्रले प्रतिबद्धता जनाएका छन् । ‘एउटा उम्मेदवारका रुपमा हामीले जुन साथ र विश्वास पायौँ, त्यसलाई संसारको सबै भन्दा शक्तिशाली कम्प्युटरले जस्तो सुकै तालिकामा कुनै पनि संख्या राखेर देखाउन सक्दैन,’ उनले भनेका छन्, ‘त्यो अमुल्य साथ र विश्वासले दिएको जिम्मेवारी पूरा गराउँन हामी हरसमय खटिरहनेछौँ ।’ कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई पराजित गर्दै बालेन्द्र भारी मतका साथ मेयरमा निर्वाचित भएका थिए । 

प्रतिक्रिया दिनुहोस