aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

ऊर्जामन्त्री भुसालसँग स्विट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ असार २०७९
ऊर्जामन्त्री भुसालसँग स्विट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले शिष्टाचार भेट गरेका छन् ।  मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भएको छ ।

स्वीस सरकारले नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षामा महत्वपूर्ण सहयोग गर्दै आएको स्मरण गर्दै मन्त्री भुसालले आगामी दिनमा पनि ऊर्जा क्षेत्रमा आवश्यक पर्ने प्राविधिक तथा आर्थिक सहयोग प्राप्त हुने अपेक्षा गरिन् । नेपाल जलवायु परिवर्तनको असरले ठूलो समस्यामा पर्दै गएको उल्लेख गर्दै उनले दुवै देशको साझा समस्याका रूपमा रहेको जलवायु परिवर्तनको असर कम गर्न सहकार्य आवश्यक रहेको बताईन् ।

मन्त्री भुसालले भनिन्, “हाम्रो पहाडमा पहिरो, तराईमा बाढी, तापक्रममा वृद्धिजस्ता जलवायु परिवर्तनका असर धेरै देखिन थालेका छन्, यस्ता समस्याको समाधान खोज्न आवश्यक छ । यी विषयमा नेपाल र स्वीस सरकार सहकार्य गरेर जानुपर्छ ।” उनले सङ्घीयता कार्यान्वयन र रोजगारी विस्तारमा स्वीस सरकारबाट प्राप्त भएको सहयोगप्रति धन्यवाद व्यक्त गरिन् ।

सो अवसरमा राजदूत क्याप्लरले नेपाललाई आर्थिकभन्दा पनि प्राविधिक सहयोग आवश्यक रहेको उल्लेख गर्दै स्वीस सरकारले निरन्तर प्राविधिक सहयोग गर्ने विश्वास दिलाईन् । उनले भनिन्, “हामीसँग टनेल एवं टवाईनजस्ता प्राविधिक क्षेत्रका लागि आवश्यक पर्ने ज्ञान र सीप छन्, त्यसलाई नेपालमा सहयोग गर्न चाहन्छौँ ।”  

प्रतिक्रिया दिनुहोस