
समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने निकायले आदेशात्मक व्यवस्था लागू गर्न खोजेको भन्दै हवाई सेवाको नियामक निकाय र वायुसेवा सञ्चालन गर्ने संस्थाबीचको विवाद चुलिएको छ । निर्णय लागू गर्न खोज्ने र निर्णय पालन नगर्ने अडानका कारण नेपाल नागरिक उड्डयन प्राधिकरण र निजी वायुसेवा सञ्चालक संघबीचको विवाद बढेको हो ।
प्राधिकरणले आइतबार विज्ञप्ति जारी गर्दै हवाई जहाजसञ्चालक कम्पनीले असार १३ गतेदेखि तोकिएको आधारमा अपरेटिङ बेस विमानस्थलमा रात्री विश्राम गरी पहिलो उडान सोही विमानस्थलबाट गर्नुपर्ने र हेलिकप्टर कम्पनीले पनि तोकिएको आधार अपरेटिङ बेस विमानस्थलमा रात्री विश्राम गरी पहिलो उडान सोही विमानस्थलबाट गर्नुपर्ने निर्णय गरेसँगै प्राधिकरण र संघबीच विवाद चुलिएको हो ।
संघले हवाई सेवा कम्पनीहरुसँग छलफल नगरी भविष्यमा आइपर्ने समस्याहरुप्रति बेवास्ता गरिएको र एकपक्षीय रुपमा स्वेच्छाचारी निर्णयले वायुसेवा कम्पनीहरुबाट प्रदान गरिने सेवामा समस्या उत्पन्न हुने भन्दै हवाई उडान बन्द गर्ने चेतावनी दिएको छ । वायुसेवा सञ्चालक संघले मंगलबार पत्रकार सम्मेलन गर्दै बुधबारदेखि आन्तरिकतर्फका सबै उडान अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको छ ।
वायुसेवा सञ्चालक संघजस्तो सामूहिक संस्थालाई बेवास्ता गरी न्यूनतम परामर्श समेत नगरी एकतर्फी प्रावधानबिना सूचना आदेशको रुपमा आउनु लोकतान्त्रिक मूल्यमान्यता र न्यूनतम व्यावसायिकताको मर्म अनुरुप नभएकाले बाध्यतावश संघले कठोर निर्णय गर्न पुगेको संघका प्रवक्ता योगराज कँडेलले बताए । उनले भने, “प्राधिकरणले गरेको निर्णय नमान्ने भन्ने हैन तर आन्तरिक तयारीबिना नै आदेशात्मक रुपमा लागू गर्नु खोज्नु गलत भएको छ ।” क्षेत्रीय विमानस्थलहरुको बढोत्तरी तथा स्तरोन्नति भए पनि विमान तथा हेलिकप्टरको मर्मतसम्भार तथा चेकजाँच गर्ने प्राविधिक पक्षलगायत अन्य विविध भौतिक पूर्वाधारको विकास भइनसकेकोले हालको अवस्थामा त्रिभुवन विमानस्थल बाहेकका विमानस्थलमा रात्री विश्राम गरी उडान भर्न असमर्थ रहेको संघले भनेको छ ।
संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले प्राधिकरणले दमनकारी नीति लिएकाले विरोध गर्नु आफूहरुको बाध्यता भएको बताए । उनले भने, “हामी ३९÷४० अर्बको पोर्टफोलियो भएका वायुसेवा कम्पनी हौं, राज्यलाई करोडौं कर तिर्छौं । तर प्राधिकरणले दमनकारी नीति ल्यायो । हामीलाई ट्रक व्यवसायी जस्तै व्यवहार गर्यो,” पत्रकार सम्मेलनमा उनले भने ।
विमानस्थल सेवा शुल्क नियमावली, २०७८ मा यात्रु सेवा शुल्क ल्याण्डिङ, पार्किङ, नेभिगेसन लगायतका सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिई पूर्ववत् कायम गर्नुपर्ने संघले माग गरेको छ । त्रिभुवन विमानस्थलमा हेलिकप्टर सञ्चालनका लागि दिर्घकालिन हेलिप्याड, मर्मतसम्भारका लागि ह्याङ्गर लगायतका भौतिक पूर्वाधारहरुका लागि स्थान उपलब्ध गराउनुपर्ने माग पनि संघको छ ।
नियामक निकाय र सेवाप्रदायक संस्था एकै निकायबाट भइरहेका कारण यूरोपियन एभिएसन सेफ्टी एजेन्सीबाट नेपाललाई हवाई सुरक्षा सूचीमा राखिएबाट देशको सम्पूर्ण पर्यटन क्षेत्र नै तहसनहस भइरहेकोले नेपाललाई यूरोपियन यूनियनको हवाई सुरक्षाको सूचीबाट हटाउनका लागि नेपाल सरकार तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट यथाशिघ्र पहल गरिनुपर्ने संघको माग छ ।
प्राधिकरणले पनि मंगलबार नै पत्रकार सम्मेलन गर्दै यसअघि भएका निर्णयमा कुनै फेरबदल नहुने अडान कायम राखेको छ । यसअघि पनि प्राधिकरणले इनरुटको मौसमको आधारमा उडान गर्न पाउने निर्णय गरेको भए पनि निर्णय भएको ३ दिनमा प्राधिकरण पछि हटेको थियो ।
प्राधिकरणले पत्रकार सम्मेलनमार्फत विमान कम्पनीहरुले जुन स्थानका लागि बेस लिएका हुन् सोही स्थानमा जानुपर्ने बताएको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले अत्यावश्यक सेवा बन्द गर्न नहुने र बन्द गरे प्राधिकरण चुप लागेर नबस्ने चेतावनी दिए । महानिर्देशक अधिकारीले विमानस्थल रत्नपार्क नभएकाले गर्दा अनुमति लिएका सबै विमान काठमाडौं विमानस्थलमा राख्न नसकिने र यस सम्बन्धमा विमान कम्पनीसँग छलफल गरी निर्णय लिएको बताए । प्राधिकरणका अनुसार विमानस्थलमा ११ वटा अन्तर्राष्ट्रिय उडान गर्ने विमान र आन्तरिकमा १७ वटा विमानको पार्किङ क्षमता छ भने ३३ वटा विमानको रात्रिकालीन विश्राम गर्नुपर्नेमा हाल आन्तरिकतर्फ ५१ वटा विमान पार्किङ गरिरहेका छन् ।
आन्तरिक वायुसेवा कम्पनीले काठमाडौं केन्द्रित उडान गर्दा होल्ड, डिलेदेखि टर्मिनल भवनमा भिडभाड भएको जस्ता समस्या देखिएको थियो । यसलाई समाधान गर्न भदै प्राधिकरणले ११ वैशाख २०७९ मा अध्ययन कार्यदल बनाएको थियो । कार्यदलमा प्राधिकरणको तर्फबाट त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरसहित ७ जना र वायुसेवा कम्पनीका तर्फबाट बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत, यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनुज रिमाल, श्री एयरलाइन्सका प्रवन्ध निर्देशक सुधिर मित्तलसहितका प्रतिनिधि थिए ।
प्राधिकरणका अनुसार कार्यदलले उडान अनुमति दिँदा सम्बन्धित विमानको आधार विमानस्थल (जहाँबाट बिहान पहिलो उडान हुन्छ) मै रात्रीकालीन विसान (पार्किङ) गर्ने व्यवस्था गर्नुपर्ने सिफारिस गरेको थियो । त्यही आधारमा ५ असारमा सर्कुलर जारी गर्दै हेलिकप्टर कम्पनीले असार ७ गतेदेखि तोकिएको आधार विमानस्थलमा रात्री विसान गरी पहिलो उडान सोही विमानस्थलबाट गर्नुपर्ने बताएको थियो ।
प्रतिक्रिया दिनुहोस