काठमाडौं । आफ्नो नेतृत्वमा गठन भएको नयाँ पार्टिको नाम नै विवादमा आएपछि पूर्व टेलिभिजनकर्मी रवि लामिछानेले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । नवगठित ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को नाम विवादमा परेपछि लामिछानेले यस विषयमा स्पष्टीकरण दिन शुक्रबार पत्रकार सम्मेलन गर्ने भएका हुन् ।
टेलिभिजन छाडेर पूर्णकालीन राजनीतिमा होमिएका लामिछानेले असार ७ गते राष्ट्रिय सभामा उक्त पार्टीको घोषणा गरी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पनि दिएका थिए ।
तर स्वतन्त्र शब्दले कुनै दलमा आबद्ध नभई स्वतन्त्र रहनुको अर्थमै भ्रम सिर्जना गरेको भन्दै उनको पार्टीविरुद्ध निर्वाचन आयोगमा उजुरी परेका छन् । मंगलबार घोषणा भएको उनको पार्टीको नामका विरुद्धमा बुधबार मात्र आयोगमा दुइ वटा उजुरी परेका छन् । स्वतत्नत्र उम्मेदवारी अभियानका शंकर शाहु र काभ्रेमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका ममनोज पण्डितले लामिछानेको पार्टीको नामका विरुद्ध आयोगमा उजुरी दिएका हुन् ।
सोही विषयमा स्पष्टीकरण दिन राष्ट्रिय स्वतन्त्र पार्टीले अपराह्न ४ बजे रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्न लागेको छ ।
प्रतिक्रिया दिनुहोस