काठमाडौं । शुक्रबार अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेट प्रस्तुत गरेका छन् । स्थानीय तहले संघीय सरकार र प्रदेश सरकारको अनुदान तथा आन्तरिक स्रोत प्रयोग गरी बजेट ल्याएका हुन्छन् ।
अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार १० असारमा स्थानीय तहले बजेट ल्याइसक्नुपर्छ । तर, प्राविधिक कठिनाइ तथा तयारी नै नपुगेका भन्दै कतिपय स्थानीय तहले भने आज बजेट ल्याउन सकेका छैनन । पोखरा महानगरपालिकामा एमालेले बजेटमा आफूहरुको सहभागिता नहुने भन्दै रातो किताब च्यातेपछि बजेट कार्यक्रम अबरुद्ध भएको छ ।
यता काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, विराटनगर महानगरपालिका, भरतपुर महानगरपालिका र वीरगञ्ज महानगरपालिकाले शुक्रबार बजेट प्रस्तुत गरिसकेका छन् ।
हेर्नुहोस्, यस्तो छ ५ महानगरको बजेट
काठमाडौं महानगरपालिका
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि २५ अर्ब भन्दा बढीको बजेट ल्याएको छ । महानगरले शुक्रबार १५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको हो ।
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कुल बजेटको ४९.५७ प्रतिशत पूर्वाधार निर्माण गर्न छुट्याइएको जानकारी दिईन् । जसका लागि महानगरले ११ अर्ब ८ करोड ८९ लाख ३ हजार रुपैयाँ घुट्याएको छ ।
साथै उनले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर बजेट ल्याएको बताईन् । नगरसभामा प्रस्तुत गरिएको बजेटअनुसार कार्यालय सञ्चालनतर्फ ४ अर्ब ६८ करोड छुट्याइएको छ । जुन कूल बजेटेको २० प्रतिशत हुन आउँछ ।
ललितपुर महानगरपालिका
ललितपुर महानगरपालिकाले ६ अर्ब भन्दा बढीको बजेट ल्याएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आर्थिक वर्ष २०७९/०८० को लागि ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँ बराबरको बजेट ल्याएको हो ।
ललितपुर महानगरले कल सेन्टर चलाउने नीति पनि समावेश गरिएको बजेटमा उल्लेख छ । यस्तै, महानगरपालिकाबाट कालोपत्रे भएका सडकहरु २ वर्षसम्म खन्न नदिइने पनि बजेटमा उल्लेख गरिएको छ ।
विराटनगर महानगरपालिका
विराटनगर महानगरपालिकाको नगरसभाको १०औँ अधिवेशनमा आगामी आर्थिक वर्षका लागि आय र व्ययको बजेट सार्वजनिक गरिएको छ । आगामी आर्थिक वर्षमा कूल रु तीन अर्ब ६२ करोड ५५ लाख ६७ व्यय हुने अनुमान गरिएको छ ।
सो व्ययमध्ये कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ रु ५५ करोड ३५ लाख ५० हजार, पूर्वाधार विकासतर्फ रु एक अर्ब ८९ करोड ७१ लाख १७ हजार, आर्थिक विकासतर्फ रु २७ करोड ७३ लाख, सामाजिक विकासतर्फ रु ७८ करोड ३९ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ रु सात करोड ७७ लाख र वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु तीन करोड ६० लाख खर्च हुने बजेटमा अनुमान गरिएको छ ।
आज प्रस्तुत भएको बजेटमा आगामी वर्ष सञ्चालन हुने मुख्य आयोजनामा वडास्तरीय आयोजनामा रु ४१ करोड ६८ लाख १७ हजार, नगरस्तरीय आयोजनाका लागि रु ३० करोड, बहुवर्षीय तथा गौरवका आयोजनाका लागि रु २९ करोड, क्रमागत योजनाको भुक्तानीका लागि रु ४० करोड, आरयुडिपीबाट निर्माण भएकालगायतका कालोपत्र सडकसमेत गरी मर्मतसम्भारमा रु १४ करेड, अन्य पूर्वाधारतर्फ रु नौ करोड ८० लाख, फोहर पानी प्रशोधन केन्द्रका लागि रु दुई करोड ५० लाख र समपूरक कोषमा रु चार करोड ८० लाख विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षको अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये सङ्घीय सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ रु एक अर्ब २१ करोड ८५ लाख र प्रदेश सरकारतर्फ रु चार करोड ९१ लाख ९७ हजार, राजस्व बाँडफाँट रु एक अर्ब १३ करोड ९९ लाख ७० हजार, आन्तरिक आय रु एक अर्ब, जनसहभागिता रु आठ करोड, अन्य अनुदान तथा ऋण रु १० करोड १९ लाख र अन्य सङ्घसंस्था रु तीन करोड ६० लाख हुने बजेटमा अनुमान गरिएको छ ।
भरतपुर महानगरपालिका
भरतपुर महानगरपालिकाको ११ औँ नगरसभामा रु पाँच अर्ब ७४ करोड ४२ लाख ५६ हजार बराबरकोे बजेट पेश गरिएको छ । महानगर उपप्रमुख चित्रसेन अधिकारीले नगरसभा समक्ष आज सो बजेट प्रस्तुत गरेका हुन् ।
प्रस्तुत बजेटमा आन्तरिक आय रु एक अर्ब ५० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु एक अर्ब ९२ करोड ११ लाख २९ हजार, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँटबाट प्राप्त रु ५३ करोड ३१ लाख २७ हजार, जनसहभागिताबाट रु ३७ करोड, बैंक मौज्दात रु एक अर्ब ३० करोड, मर्मतसम्भार कोषबाट रु चार करोड, सडक बोर्ड नेपालबाट रु तीन करोड र जिल्ला समन्वय समिति चितवनबाट रु तीन करोड रहने प्रक्षेपण गरिएको छ ।
चालु आर्थिक वर्षका लागि गत वर्ष बजेट प्रस्तुत हुँदा रु चार अर्ब ८४ करोड रहेको थियो । पूरक र थप अख्तियारीसमेत गरी चालु आर्थिक वर्षको बजेट रु पाँच अर्ब ५१ करोड ७३ लाख ८८ हजार पुगेको छ । अनुमानित आयमा २०७९ जेठ मसान्तसम्म महानगरले आन्तरिक आम्दानी रु ९७ करोड प्राप्त भएको छ । गत वर्षको सुरुआती बजेटको तुलनामा यस वर्षको बजेट रु ९० करोड बढी हो ।
वीरगञ्ज महानगरपालिका
वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ३ अर्ब ३३ करोड ६३ लाख २६ हजार रुपैयाँको बजेट ल्याएको छ । बजेटमा चालुतर्फ २ अर्ब ६ करोड ९८ लाख ५० हजार अर्थात ६२.०४ प्रतिशत र पूँजीगततर्फ १ अर्ब २६ करोड ६४ लाख ७५ हजार (३७.९६ प्रतिशत) छुट्याइएको छ ।
महानगरले आन्तरिक आयबाट ९५ करोड रुपैयाँ, संघीय सरकारको (वित्तीय समानीकरण अनुदान, राजश्व बाँडफाँड, समपुरक, सशर्त र विशेष अनुदान समेत) १ अर्ब ७० करोड ६२ लाख ५८ हजार, मधेस प्रदेश सरकारबाट (वित्तिय समानीकरण अनुदान, राजश्व बाँडफाँड, समपुरक, सशर्त र विशेष अनुदान समेत) ७ करोड ९८ लाख २४ हजार रुपैयाँ पाउने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस