
सरकारले चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा भन्सार बिन्दुबाट साढे ४ खर्ब रुपैयाँबराबर राजस्व संकलन गरेको छ । सरकारले आयात नियन्त्रण गर्ने नीति लिए पनि आयात र राजस्व दुवैमा वृद्धि भएको भन्सार विभागले जनाएको छ ।
विभागका अनुसार सरकारले जेठ मसान्तसम्ममा ४ खर्ब ४६ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ, जुन कुल राजस्वको ४७ प्रतिशत हो । सरकारले गत आवको जेठ मसान्तसम्ममा ९ खर्ब ४२ अर्ब रुपैयाँको राजस्व संकलन गरेको थियो ।
सरकारले आयात नियन्त्रण गर्न केही वस्तुको आयातमा रोक लगाए पनि त्यसको असर भने नदेखिएको तथ्यांकले देखाएको छ । वैशाख महिनामा १ खर्ब ३८ अर्ब रुपैयाँबराबरको वस्तु तथा सेवाको आयात भएकोमा जेठ महिनामा बढेर १ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ । यससँगै ११ औं महिनामा १७ खर्ब ६३ अर्ब रुपैयाँको आयात भएको छ, जुन हालसम्मकै उच्च हो ।
आयात बढेसँगै त्यसको प्रभाव राजस्वमा पनि देखिएको छ । विभागका अनुसार वैशाख महिनाको तुलनामा जेठ महिनामा भन्सार बिन्दुमा संकलन हुने राजस्व बढेको छ । सरकारले वैशाख महिनामा ३४ अर्ब रुपैयाँ बराबरको भन्सार राजस्व संकलन गरेकोमा जेठ महिनामा ७ अर्बले वृद्धि हुँदै ४१ अर्ब रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले विभिन्न वस्तुहरुको आयातमा कडाइ गर्दै एलसी खोल्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ । सरकारले पनि विलासिताका विभिन्न १० वस्तुको आयातमा नै प्रतिवन्ध लगाएको छ । यसले आयात घटाउने र त्यसको प्रत्यक्ष प्रभाव राजस्वमा देखिने आकलन गरिए पनि तथ्यांकले भने केही फरक संकेत गरेको हो ।
आयात निरुत्साहन गर्न ५० र शतप्रतिशत मार्जिनको व्यवस्था गरेको विषयले समेत आयात रोक्न ४ महिना लाग्ने भएकाले पनि विदेशी विनिमयमा खासै सकारात्मक प्रभाव नल्याएको नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् । “आज एलसी खोलेको छ भने त्यसको प्रभाव देखिन ४ महिनाको समय लाग्छ । सरकारले १० वस्तुको आयातमा गत वैशाखमा मात्र रोक लगाएको हो । त्यसको नतिजा आउन पनि केही समय लाग्छ,” उनले भने । राष्ट्र बैंकले गरेको नगद मार्जिनको व्यवस्था इमान्दारिपूर्वक कार्यान्वयन भने हुन नसकेको उनी बताउँछन् । “मार्जिन राख्दा करोडौं, अरबौं घरबाट लगेर राख्ने त पक्कै होइन होला, बैंकबाट सापटि नै लिने हो । नगद मार्जिनका लागि बैंकलाई नै प्रयोग भइरहेको छ जस्तो देखिन्छ । त्यसको अनुगमनको पाटो कमजोर भएको छ,” उनले भने ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार शनिबारसम्ममा सरकारले ९ खर्ब ६० अर्ब रुपैयाँ बराबरको राजस्व संकलन गरिसकेको छ । आर्थिक वर्ष सकिन १८ दिन बाँकी रहँदा सरकारले लक्ष्यको ८१।३८ प्रतिशत राजस्व संकलन गरेको हो । सरकारले अघिल्लो महिनाको तुलनामा केही बढी राजस्व संकलन गरे पनि शतप्रतिशत राजस्व संकलन गर्न चुनौतीपूर्ण देखिएको छ ।
प्रतिक्रिया दिनुहोस