
धरान । सप्तकोशीको पानी धरानमा ल्याउन डिपिआरको तयारी गर्न धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई र विशेषज्ञसहितको टोलीले सप्तकोशीको स्थलगत अध्ययन गरेको छ ।
प्रमुख राईले चुनावको बेलामा आफ्नो प्रमुख एजेण्डा नै सप्तकोशीको पानी ल्याएर धरानका जनतालाई खुवाउने बनाएका थिए । सो एजेण्डा कार्यान्वयनको लागि संघीय सरकार अन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभाग, भारतीय र नेपाली परामर्शदाता, विशेषज्ञसहितको टोलीले सप्तकोशीको स्थलगत अध्ययन गरेको हो ।
बर्खाको समयमा पानीको अभाव नभए पनि हिउँदको समयमा भने धेरै नै पानीको अभाव हुने गरेको छ । हिउँदको समयमा धरान वरपर भएको पानीका मुहानहरु सुक्ने गर्दछ र बढ्दो जनसंख्याको कारणले गर्दा पनि कोशीबाट पानी लगेर मात्र पानीको समस्याको स्थायी रुपमा समाधान हुने प्रमुख राई बताउछन् ।
विभागका आयोजना प्रमुख वालमुकुन्द श्रेष्ठले डिपिआर तयार गर्न १२ महिना लाग्ने बताए । डिपिआर तयार भएपछि सबैबाट सकारात्मक प्रतिक्रिया र आवश्यक जग्गा उपलब्ध भएमा तत्काल योजना कार्यान्वयन गरिने उनले जानकारी दिए ।
उनका अनुसार हाल १२ वटा स्थानीय तहमा डिपिआर भइरहेको र पहिलो चरणमा ५ वटा स्थानीय तह छनौट गर्नुपर्ने बताए । धरानको राजनीतिक नेतृत्व, नगरबासी सबैको पहल भएमा पांचवटा सहरमा धरान छनौट हुने उनले बताए । विशेषज्ञ एवं सिनियर इञ्जिनियर डा. चेतबहादुर परियारले डिपिआर तयार भएपछि स्रोत ९बजेट० जुटेमा ३ वर्षभित्र पानी धरान पुराउन सकिने बताए ।
प्रतिक्रिया दिनुहोस