काठमाडौं । पछिल्लो समय पानी बाराबारको अवस्थामा पुगेको जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीचको विवाद चरमोत्कर्षमा पुगेको छ । यादव पक्षले पार्टी भट्टराईसहित उनी पक्षका नेतालाई कारबाही गर्ने तयारी नै गरेपछि विवादले उग्ररुप लिएको हो ।
सोमबार राति बसेको यादव पक्षीय कार्यकारिणी समिति बैठकले भट्टराई र महेन्द्र यादव लगायतका नेताहरुमाथि कारबाही गर्ने निर्णय गरेको छ । यादव पक्षले कार्यकारिणी समितिमा आफ्नो बहुमत भएको दाब गर्दै भट्टराई माथि नै कारबाही गर्न निर्णय लिएको हो ।
यसका साथै जसपाको यादव पक्षले सरकारमा रहेका सबै मन्त्रीलाई फिर्ता बोलाउने समेत निर्णय गरेको छ । सरकारमा सहभागी भएका चारै जना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय जसपाको यदव पक्षले गरेको हो ।
जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा रेणुकुमारी यादव, वन मन्त्रालयमा रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षि विकास मन्त्रालयमा महिन्द्र राय यादव मन्त्री भएका छन् ।
प्रतिक्रिया दिनुहोस