aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

हिमालमा पहिरो‍ खतराको संकेत, सावधानी अपनाउन आग्रह

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • मंगलबार, १४ असार २०७९
हिमालमा पहिरो‍ खतराको संकेत, सावधानी अपनाउन आग्रह

काठमाडौं । हिमालहरू नै पृथ्वीका सबैभन्दा अग्ला ठाउँहरू हुन् । चिसा ती ठाउँहरूमा पानी पर्दैन, हिउँ पर्छ । हिउँ जम्छ । ठूलाठूला र अग्लाअग्ला पहाडी चट्टानहरूमा बाह्रैमास हिउँ जमिरहने हुने हुँदा ती हिमाल भएका हुन् । अग्ला पहाडी पर्वतहरू समथर हुँदैनन्, तै हिउँ जमेर बस्छ । तर ३० डिग्रीभन्दा भिराला हिमाली पर्वतमा धेरै हिमपात हुँदा हिउँ नअडिएर पहिरोको रूपमा खस्छ पनि । यो त स्वाभाविकै प्रक्रियाजस्तो देखिन्छ । तर नेपालका हिमालहरूमा यस्ता स्वाभाविक र नियमित जस्ताभन्दा बेग्लै हिउँ पहिरो पनि जान थालेका छन् । जुन जोखिमका मात्रै होइन, प्रलयका पनि संकेत हुन् । विश्व तापमान वृद्धिसँगै हिमाली क्षेत्रमा हिमपहिरोको क्रम वृद्धि हुँदैछ । हिमाली पर्वतहरूमा हिउँ घट्दै छ । यसै पनि नेपाल जलवायु परिवर्तनको चौथो जोखिम मुलुकभित्र पर्छ। यसको पहिलो असर भनेकै हिमालमा परिरहेको छ । हिमालमा परिहेको असरको प्रभाव नै हो, हिमपहिरो, बाढी र पहिरो आदि ।

हिमपहिरोको जोखिम यति धेरै बढ्दै गएको छ कि पछिल्लो समय सगरमाथा आधारशिविरै सार्ने योजना बन्दैछ । अहिलेको आधारशिविर भनेको ५ हजार ४ सय ६४ मिटरको उचाइ हो । अब त्यसभन्दा तलै सार्ने सरकारी योजना छ । अहिलेको आधारशिविर हिमपहिरोको जोखिममा छ । आधारशिविरमा हिमनदी र खोल्साहरू बनेका छन् । अर्थात् हिउँ पग्लिँदै गएको छ । पानी बन्न थालेको छ । गएको एक शताब्दीमा नेपालमा ६० भन्दा बढी हिमपहिरो गएको रेकर्ड छ। तिनका कारण ३ सय ७२ जनाले ज्यान पनि गुमाएका छन् ।

अधिकांश हिउँपहिरो सगरमाथा क्षेत्रमा गएका छन् । ज्यान गएकामध्ये ३ सय २४ जना सगरमाथा क्षेत्रको हिउँपहिरोका कारण थिए । विश्वको शिखर क्षेत्र नै यसरी हिमपहिरोको चपेटामा पर्नु निकै संवेदनशील कुरा हो । हिमालको हिउँ, त्यहाँको पर्यावरण नेपालको मात्रै होइन, विश्वकै जलवायु सन्तुलनको चिन्ताको विषय हो । जलवायु परिवर्तन विश्वभरकै सबैभन्दा गम्भीर मुद्दा हो । पृथ्वीको जलवायुमा आएको परिवर्तनको मुख्य कारण पृथ्वीको तापक्रम वृद्धि हो। त्यसको एउटै मूल कार्बन उत्सर्जन हो। खानीबाट निकालिने इन्धन र त्यस्तो इन्धनबाट चल्ने यातायातका साधन र कलकारखाना कार्बन उत्सर्जनका मुख्य कारण हुन् ।

जसरी सय वर्षयता हिउँपहिरोको संख्या अचाक्ली देखिन्छ, त्यस्तै सय वर्षयता नै जीवाश्म इन्धनको प्रयोग अत्यधिक छ । अहिले बर्सेनि १० अर्ब टन कार्बन पृथ्वीमा उत्सर्जन भइरहेको छ, जब कि सय वर्षअघि यो मात्रा एक अर्ब टन थियो । जीवाश्म इन्धनको प्रयोगले निम्त्याएको यो समस्याको समाधान त्यसको कम प्रयोग नै हो । त्यसो त जैविक र वैकल्पिक तथा विद्युतीय ऊर्जाको प्रयोगतर्फ संसारले दिशा समातेको छ । तर, त्यसको गति कार्बन उत्सर्जन न्यूनीकरणका लागि पर्याप्त भएको छैन । झन् नेपालमा त विद्युतीय ऊर्जा खपतका लागि सरकारले नारा त दिएको छ, तर कार्यान्वयनतिर पटक्कै ठोस कदम चालेको छैन । विद्युतीय ऊर्जाबाट चल्ने साधनमा भन्सार बढाएर उल्टो काम गरेको छ । 

हिमपहिरोको जोखिम क्षेत्र कहाँकहाँ हो भन्ने पत्ता लगाउन पनि सरकारबाट कुनै काम भएको छैन । त्यसैले यो झन् बढी जोखिमयुक्त भएको छ । हिउँपहिरोको जोखिमको पूर्वानुमानका लागि कुनै प्रविधिको प्रयोग या विकासमा पनि ध्यान नपुर्‍याउन सरकारको अर्को कमजोरी हो । कम्तीमा पनि हिउँपहिरोको जोखिमको नक्सांकन गर्ने र जोखिमका बस्ती वा त्यता मानवीय उपस्थिति कम गराउन सरकारले नीति बनाएर कार्यान्वयन गर्नुपर्छ । हिउँपहिरोको कारण मानवीय गतिविधि पनि हो ।

जलवायु परिवर्तनमात्रै सबै कारण होइन। तसर्थ, हिमाली क्षेत्रमा पर्यावरणमा नोक्सान पुग्ने मानवीय गतिविधिलाई कम गर्ने, हिमाल आरोहणलाई थप व्यवस्थित गर्ने तथा हिमालमा फोहोर थुप्रन नदिने सरकार कडाइका साथ लाग्न जरुरी छ । हिउँपहिरो सामान्य पहिरोमात्रै होइन, मानव जीवनको अस्तित्वका लागि ठूलो खतराको संकेत हो ।

प्रतिक्रिया दिनुहोस