aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

निर्वाचन आयोगमा १४ ओटा कम्युनिष्ट पार्टी, दर्ता नभएकाको संख्या नै अज्ञात

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • बुधबार, १५ असार २०७९
निर्वाचन आयोगमा १४ ओटा कम्युनिष्ट पार्टी, दर्ता नभएकाको संख्या नै अज्ञात

काठमाडौं । पुराना कम्युनिस्ट नेताहरू हाल नेपालमा कतिवटा कम्युनिस्ट पार्टी छन् भन्ने सङ्ख्या नै यकिन नरहेको बताउछन् । २००६ मा पुष्पलाल श्रेष्ठलगायतले स्थापना गरेको कम्युनिस्ट पार्टीमा फुटको शृङ्खला जारी रहँदा यस्तो अवस्था आएको हो । 

वि.सं. २००६ मा भारतको कोलकातामा रहेका पुष्पलाल श्रेष्ठले नेपाली राष्ट्रिय कांग्रेसबाट राजीनामा दिएका थिए । त्यसअघि २००५ चैत २३ गते उनले ‘कम्युनिस्ट घोषणापत्र’को नेपाली अनुवाद प्रकाशन गरेका थिए । नेपाल कम्युनिस्ट पार्टी २००६ वैशाख १० गते भारतकै कोलकातामा नेकपाको स्थापना भएको भए पनि भदौ ३० गते स्थापनाको जानकारी सार्वजनिक भयो । संस्थापक पुष्पलालसहित केन्द्रीय कमिटीमा मनमोहन अधिकारी, तुलसीलाल अमात्य, शैलेन्द्रकुमार उपाध्याय, डीपी अधिकारी र अयोध्या सिंह थिए । 

स्थापनाकालदेखि नै विवादमा परेको कम्युनिस्ट पार्टी त्यसयता एकीकरण र मातृ पार्टी कम्युनिस्ट विचारधाराबाट विचलित भएको भन्दै फुटको शृङ्खला चल्दै आएको छ । कम्युनिस्ट पार्टीमा पहिलो पटक केशरजङ्ग रायमाझीका कारण २०१९ मा फुट आएको थियो । कम्युनिस्ट पार्टीलाई एक बनाउने अभियान पनि बेलाबखत नभएको होइन तर एक हुनेभन्दा फुट्ने प्रवृत्ति नै मौलाएको छ । निर्वाचन आयोगमा कम्युनिस्टकै नाममा दर्ता भएका पार्टी मात्र १४ वटा छन् । आयोगमा दर्ता भएका कुल दलको यो १२.५ प्रतिशत हो ।

सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दल पाँचवटा छन् । त्यसमध्ये नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेपाल मजदुर किसान पार्टी संसदीय दलको मान्यता प्राप्त हुन् । राष्ट्रिय जनमोर्चाले संसदीय दलको मान्यता पाएको छैन तर प्रतिनिधित्व छ ।

यस अतिरिक्त कम्युनिस्ट विचारधारा बोकेका अन्य दलको नाममा ‘कम्युनिस्ट’ नभए पनि आयोगमा दर्ता भएर अस्तित्वमा छन् भने कतिपय सङ्गठन आयोगमा दर्ता नभए पनि कम्युनिस्ट विचारधारालाई आत्मसात् गरेर गतिविधि गर्दै आएका छन् । 

मोहन वैद्यले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंहले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (मसाल) अस्तित्वमा रहे पनि आयोगमा दर्ता भएको छैन । त्यसैगरी माओवादी जनमुक्ति पार्टी नेपाल, जनताको जनवादीलगायतका दल आयोगमा दर्ता रहेका छन् । 

कम्युनिस्ट पार्टीहरूबीच एकताको वातावरण तयार गर्न राष्ट्रिय सभा सदस्य वामदेव गौतमले फेरि एक पटक प्रयास थालका छन् । तर उनकै संयोजकत्वमा मङ्गलबार घोषणा भएको ‘नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान’ नाम दिइएको पार्टी पनि फुटेर नै अस्तित्वमा आएको हो । उनी नेकपा (एमाले)का नेता थिए ।

नयाँ दल घोषणा कार्यक्रममा गौतमले विगतमा विघटन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई पुनर्गठन गर्ने र प्रतिनिधि तथा प्रदेश सभा चुनावअघि नै विभाजित कम्युनिस्ट पार्टीहरूलाई कार्यगत एकतामा आउने वातावरण सिर्जना गर्ने दाबी गरे । गौतम केही समयअघि नेकपा (एमाले) छोडेर नेकपा (एकीकृत समाजवादी)सँग नजिक देखिएका थिए । गत प्रतिनिधि सभा निर्वाचनमा बर्दियाबाट पराजित गौतमलाई तत्कालीन नेकपा सरकारले राष्ट्रिय सभा सदस्यमा सिफारिस गरी राष्ट्रपतिबाट मनोनीत भएका थिए । 

गौतमको संयोजकत्वमा गठित पार्टीमा १५ जना स्थायी कमिटी सदस्य रहने व्यवस्था छ । समितिमा अध्यक्ष, सात उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव, एक कोषाध्यक्ष र एक सचिवको व्यवस्था  छ । नेकपा एकता केन्द्रीय समन्वय समितिमा ७५ जना केन्द्रीय सदस्यको व्यवस्था गरिएको छ । नेकपा एकता राष्ट्रिय अभियान दलले अन्य पार्टीसँग एकताको संवादका लागि संयोजक आफ्नै संयोजकत्वमा सचिवालयका सदस्यहरू सम्मिलित वार्ता टोली छिट्टै बनाउने गौतमले जानकारी दिए । 

‘पसल खोल्ने काम रोकिएन’

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी त नेपालमा कम्युनिस्ट पार्टी नामको पसल खुल्ने क्रम नरोकिएको बताउछन् । यथास्थितिमा नेपालका कम्युनिस्ट पार्टीबीच एकता सम्भव नभएको र नयाँ केही गरौँ भनेर पसल खोलिहाल्ने र पसल चल्न छाडेपछि फेरि मिलिहाल्ने परिपाटीको विकास भएको उनले बताए । उनले यथास्थितिमा कम्युनिस्ट पार्टीबीच एकता सम्भव नरहेको पनि बताए । 

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले पनि नेपालमा कम्युनिस्ट पार्टीको सङ्ख्या गनिसाध्य नभएको बताए ।  “नेपालको कम्युनिस्ट आन्दोलनमा यतिबेला संशोधनवाद र क्रान्तिकारी धारबीच अन्तर सङ्घर्ष भइरहेको छ । दुवै धार फरक–फरक रूपमा अघि बढेकाले एकता र सङ्ख्या यकिन छैन,” वैद्यले बताए । संशोधनवादको नेतृत्व गर्ने पार्टी नाम मात्रैको कम्युनिस्ट भएकाले एकताको विषय अघि बढ्न नसक्ने उनले बताए । 

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले पनि कम्युनिस्ट पार्टीको सङ्ख्या यकिन नभएको बताए । उनले कम्युनिस्ट पार्टीबीच एकता आवश्यक रहे पनि पार्टीबीचका कार्यशैलीले त्यस्तो सम्भावना नभएको बताए । उनले नेपालमा कम्युनिस्टबीचको एकता नै सम्भव नभए पनि निर्वाचनमा गठबन्धन गर्न सक्ने आधार भने सिर्जना गराउन सकिने बताए ।

पुराना कम्युनिस्ट नेता तथा नेपाल शिक्षक युनियनका संस्थापक अध्यक्ष माधवप्रसाद अधिकारीले २०३६ सालसम्म हातमै गन्न सकिने कम्युनिस्ट पार्टी भए पनि अहिले यसको सङ्ख्या यकिन नभएको बताए । कुरा नमिल्नेबित्तिकै नयाँ पार्टी खोल्ने र नयाँ पार्टी खोल्ने नेतृत्वले आफू सही छु भनेर देखाउन जनतालाई दिग्भ्रमित बनाउने विषयले कम्युनिस्ट पार्टीको सङ्ख्या बढेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस