aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

२२ करोडको राजस्व छली, २७ जनाविरुद्ध मुद्दा दायर

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • विहीबार, १६ असार २०७९
२२ करोडको राजस्व छली, २७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले २२ करोड बढी राजस्व छलीको अभियोगमा विभिन्न कम्पनीका सञ्चालक, कर्मचारी र कारोबारीसहित २७ जनाविरुद्ध मुद्दा दायर गरेको छ । उनीहरूविरुद्ध बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको हो ।

मालवस्तु पठाउँदा ढुवानी, साधनको अनुगमन प्रणालीमा प्रविष्ट गरेको तर ती मालवस्तु खरिद गर्नेले बिना बिलबिजक बुझेको, खरिद र बिक्री नजनाई भन्सार, आयकर, मूल्य अभिवृद्धि कर र लाभांशलगायतका राजस्व नतिरेकाले कारबाही गरिएको विभागले जनाएको छ ।

मुद्दा दायर गरिएका २७ जनालाई २२ करोड १९ लाख रुपैयाँबराबर बिगो माग दाबी गर्दै जरिमानासहित ४४ करोड ३८ लाख रुपैयाँ तथा आवश्यक सजाय माग गरिएको छ ।

मुद्दा दायर गरिएकामा पशुपति रोड क्यारियर्सका सञ्चालक महेन्द्रप्रसाद गुप्ता, राजेन्द्रप्रसाद गुप्ता, मधुकुमारी गुप्ता र कर्मचारी उपेन्द्रकुमार सिंह, अन्जियन आलम छन् ।

त्यस्तै, मनकामना सप्लायर्सकी प्रोप्राइटर रेखा जैसवाल, कारोबारी राकेशप्रसाद जैसवाल, सुद्रानिया इम्पेक्सका प्रोप्राइटर भरतकुमार अग्रवालविरुद्ध मुद्दा दायर भएको छ ।

मुद्दा पर्ने अन्यमा आरएनएस इन्टरनेसनलका सञ्चालक अमित प्रधान, व्यवस्थापक सुजित महर्जन, कर्मचारी श्यामप्रसाद बस्याल, अरुण क्लोथ सपका प्रोप्राइटर चन्द्रबहादुर श्रेष्ठ, कर्मचारी जयबहादुर भट्ट, मुख्य कारोबारी भारतीय नागरिक अभिषेक कुमार छन् ।

एनए इम्पेक्सकी प्रोप्राइटर रिमा केडिया, मुख्य कारोबारी सुभासचन्द्र अग्रवाल, एआर साडी कलेक्सनका प्रोप्राइटर भारतीय नागरिक सोहन साह, कारोबारी नन्दनकुमार, एजिलिटी मार्केटिङका सञ्चालक तीर्थराज पुरी, खुसी साडी कलेक्सनकी किरणदेवी साह, एचएमडीएम इन्टरप्राइजेजका सुरेश श्रेष्ठ, राजकुमार एन्ड सन्सका राजकुमार अग्रवाल, मिलाप सिंघलविरुद्ध पनि मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

यस्तै, न्यु उत्सव ट्रेड कन्सर्नका लीला गौतम, कारोबारी दामोदर रिमाल, फेसन ब्वाइ सेन्टरका दिनेश्वरकुमार ओझा र सोही कम्पनीका सुमितकुमार डाल्मियाविरुद्ध मुद्दा दायर भएको विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस