aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

टनकपुरको पानीले पहिलो रोपाइँ, ५३ सय हेक्टरमा सिँचाइ सुविधा

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • विहीबार, १६ असार २०७९
टनकपुरको पानीले पहिलो रोपाइँ, ५३ सय हेक्टरमा सिँचाइ सुविधा

काठमाडौं ।  महाकाली सन्धिमा उल्लेख भएअनुसार नेपालले सिँचाइका लागि पाउने भनिएको पानी २६ वर्षपछि पाएको छ ।  बुधबार राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसर पारेर सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले सो नहरको पानीले रोपाइँ गरेर नहर उद्घाटन गरेका हुन् । 

नेपालले महाकाली सिँचाइ तेस्रो चरण आयोजनाअन्तर्गत नहर निर्माण कार्य आर्थिक वर्ष २०६३र६४ बाट सुरु गरे पनि पानी ल्याउन महाकाली नदीसम्म पुग्ने एक हजार दुई सय मिटर नहर भारतीय क्षेत्रमा पर्ने भएकाले भारतीय पक्षले बेवास्ता गर्दा आयोजना सुस्त गतिमा अगाडि बढेको थियो ।  

दुई वर्षअघि तत्कालीन ऊर्जासचिव दिनेशकुमार घिमिरेको भारत भ्रमणका क्रममा सहमति गरेपछि भारतले आफ्नो क्षेत्रमा पर्ने सम्झौताअनुसार बनाउनुपर्ने नहर निर्माण गरेको छ । 

नेपालले पनि तीव्र गतिमा काम अगाडि बढाएको र योजना तोकिएकै समयमा पूरा हुने सिनियर डिभिजन इन्जिनियर शम्भुराज पण्डितले बताए । उनले भने, “१५१ किलोमिटर निर्माण हुने नहरको हामीले अहिलेसम्म १६ प्रतिशत काम पूरा गरिसकेका छौँ ।”

मूल नहरसँगै २२ वटा शाखा नहर निर्माण भएपछि ५३ सय हेक्टरमा सिँचाइ सुविधा पुग्नेछ ।

अहिले भारतले आफ्नो क्षेत्रमा बनेको नहर परीक्षण गरिरहेको छ । भारतले नहरमा पानी भर्ने र खाली गर्ने काम गरिरहेको छ । मूल नहर निर्माण भएको क्षेत्रमा शाखा नहर निर्माण प्रक्रिया पनि सुरु भएको छ । २२ वटा शाखा नहर निर्माणका लागि जमिन अधिग्रहणदेखि डिजाइन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा समेत मूल नहरसँगै शाखा नहर निर्माणका लागि बजेट विनियोजन गरेको छ । २२ वटा शाखा नहर निर्माण भएपछि ५३ सय हेक्टरमा सिँचाइ सुविधा पुग्नेछ । शाखा नहर निर्माणका लागि आठ हेक्टर जमिन अधिग्रहण गर्नुपर्नेछ ।

सरकारले दुई वर्षअघि सो आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेपछि निर्माण कार्यले गति लिएको हो । यो नहरबाट कैलालीको मालाखेती र कञ्चनपुरका दक्षिणी क्षेत्र पुनर्बाससम्मै सिँचाइ सुविधा पु(याउने लक्ष्य लिइएको छ । 

प्रतिक्रिया दिनुहोस