aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

सल्लाहमै छोडपत्र गर्ने तयारीमा उपेन्द्र र बाबुराम

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • शुक्रबार, १७ असार २०७९
सल्लाहमै छोडपत्र गर्ने तयारीमा उपेन्द्र र बाबुराम

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)मा आन्तरिक विवाद नयाँ होइन। पार्टीको बैठक बोलाउनेदेखि विभिन्न महत्वपूर्ण निर्णयमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच मतभेद चल्दै आएको थियो। अहिले पुनः अध्यक्ष यादवले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेसँगै विवाद अझै चुलिएको छ। यही विवादले दुई अध्यक्षलाई अलगअलग बाटोमा हिँड्ने अवस्थासम्म पुर्‍याएको छ।  

मन्त्री बनाउने र कारबाही गर्नेसम्मको अधिकार पनि अध्यक्ष यादवले आफैं राख्दा भट्टराई असन्तुष्ट थिए। पछिल्लो समय यादवले मन्त्री फिर्ता बोलाउने निर्णय गर्दा भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नै उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न आग्रह गरेका छन्। उनले यादवको एकल निर्णय भएको र त्यसलाई नमान्न आग्रह गरेका थिए। त्यसो गरे आफूसँग रहेका सांसदहरूले समर्थन फिर्ता लिने उनले देउवालाई चेतावनीसमेत दिएका थिए। 

प्रधानमन्त्री देउवाले पार्टीभित्रको विवाद मिलाएर मात्र मन्त्री हेरफेर गर्ने आश्वासन भट्टराईलाई दिए। गत मंगलबार यादवसँगको भेटमा प्रधानमन्त्री देउवाले मन्त्री फेरबदलका लागि पार्टीभित्र सहमति गरेर आउन सुझाएका थिए। तर, पार्टीभित्र त्यो विषयमा सहमति नभएको जसपाका नेताहरू बताउँछन्। यो विषयले नै दुई नेतालाई आ–आफ्नै बाटो लाग्नेसम्मको अवस्थामा पुर्‍याएको छ। मन्त्री फेरबदलकै विषयलाई लिएर चर्को विवाद भएपछि बुधबार राति भट्टराई र यादवबीच वार्ता भएको थियो। वार्तामा अलग हुने सहमति भएको अध्यक्ष यादव बताउँछन्। 

भन्छन्, ‘संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच एकताबाट हामी एउटै पार्टी भएका थियौं। तर, दुई पार्टीको केमेस्ट्री मिलेन। त्यसैले हामीबीच अलग भएर अघि बढ्ने निर्णय भयो।’ 

भट्टराईले पनि अबसँगै बस्ने अवस्था नभएको र आफूहरू मन्त्रीको कोटाका लागि सहमति नजनाउने स्पष्ट पारेको उनी निकट नेताले बताए। ‘बाबुरामजीले सहमति नजनाएपछि उपेन्द्रजीले संसदीय दलका अनौपचारिक बैठक बोलाएर तत्काल सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँलाई पठाउने वातावरण नरहेको प्रष्ट पारेका थिए,’ ती नेताले भने।

बाबुरामको पक्षमा हस्ताक्षर गरेका सांसदहरू समेतको बैठकमा उपेन्द्रले मन्त्री हेरफेरको लागि आफूलाई धेरै दबाब नदिन सांसदहरूलाई आग्रह गरेका थिए। तर, बैठकमै सांसद प्रदीप यादव, मृगेन्द्र यादवसहितका सांसदहरूले तत्काल मन्त्रीहरूलाई फिर्ता बोलाउने र नयाँको नाम बालुवाटार पठाउन दबाब दिएका थिए।

संसदीय दलको बैठकमा केहीबेर मन्त्री बन्ने आकांक्षी सांसदहरू र उपेन्द्र यादवबीच चर्काचर्कीसमेत भएको स्रोत बताउँछ। ‘आक्रोशित यादवले तत्काल मन्त्रीहरू फेरबदल हुँदैन। पार्टी छोडेर जाने इच्छा भए निर्णय लिन स्वतन्त्र हुनुहुन्छ भनेका थिए,’ स्रोतले बतायो। गत सोमबार यादवले आफू पक्षधर केन्द्रीय कार्यकारिणीका सदस्यहरूलाई बोलाएर सरकारमा रहेका चारवटै मन्त्रीहरू फिर्ता बोलाउने र नयाँ अनुहारलाई पठाउने निर्णय गरेका थिए। मन्त्रीको नाम पठाउने र पार्टीविरोधी गतिविधिमा संलग्न बाबुरामसहितका केही नेताहरूलाई कारबाही गर्ने अधिकार उपेन्द्रले लिएका थिए।

यता उपेन्द्र समूहका नेता तथा सांसद मृगेन्द्रकुमार सिंह यादव पार्टी विभाजन भए उपेन्द्रसँग २० केन्द्रीय कार्यकारिणी सदस्य रहने दाबी गर्छन्। अहिले जसपामा ३३ सदस्यीय कार्यकारिणी सदस्य र राष्ट्रियसभाबाहेक २१ सांसद छन्। 

प्रतिक्रिया दिनुहोस