aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

मानसिक समस्या भएका महिला : बलात्कृत हुदै, बच्चा जन्माउदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ असार २०७९
मानसिक समस्या भएका महिला : बलात्कृत हुदै, बच्चा जन्माउदै

बैतडी । मानसिक अवस्था ठीक नहुँदा घर छाडेर हिँडेकी एक महिलाले बच्चा जन्माइन् । बैतडीको मेलौली घर भएकी ती महिलालाई बच्चाको बाबु को हो थाहा छैन । ती महिलामा बलात्कार भएर गर्भ रही बच्चा जन्मेको शङ्का छ । स्वास्थ्य कार्यालय बैतडीको पहलमा ती महिला र बच्चाको उद्धार गरेर उपचार भइरहेको छ । 

यसरी मानसिक स्वास्थ्यमा समस्या भएका महिलाबाट बच्चा जन्मिन थालेपछि बैतडीमा शुक्रबार थप पाँच जना महिलाको उद्धार गरिएको छ । उनीहरूलाई उपचारका लागि धनगढी पठाइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । “बेवारिसे अवस्थामा डुलिरहेका महिलामाथि बलात्कार हुने डर देखियो,” स्वास्थ्य कार्यालय बैतडीका प्रमुख भट्टले भने, “मानसिक समस्या भएका शिवनाथ गाउँपालिकाबाट दुई जना, दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका र सुर्नया गाउँपालिकाबाट एक–एक गरी पाँच जनाको उद्धार गरेर उपचारका लागि धनगढी पठाएका छौँ ।”  

मानसिक अवस्था बिग्रेका महिलाको खाने, बस्ने व्यवस्था धनगढीस्थित दृष्टि फाउन्डेसनले गर्दै आएको  छ । दृष्टि फाउन्डेसन धनगढीले खाना र बासको व्यवस्था निःशुल्क गर्ने सहमति जनाएपछि स्वास्थ्य कार्यालयले औषधि दिनेगरी ती महिलालाई धनगढी पठाएको प्रमुख भट्टले बताए । 

दृष्टि फाउन्डेसनको संरक्षणमा रहेर यसअघि बैतडीका आठ जना महिलाले मानसिक स्वास्थोपचार गराइरहेका छन्  । यीभन्दा पनि त्यहाँको तथ्याङ्कले समस्या अरू जटिल देखाउँछ । फाउन्डेसन धनगढीमा सुदूरपश्चिमका विभिन्न जिल्लाका ४५ जना मानसिक समस्या भएका महिला छन् । तीमध्ये बलात्कृत १२ जनाबाट जन्मिएका १२ बालबालिका पनि आमासँगै आश्रय लिइरहेका छन् । 

मानसिक अवस्था बिग्रेर बेवारिसे अवस्थामा उद्धार गरिएका ४५ मध्ये १३ जना महिला बैतडीका रहेको फाउन्डेसनका अध्यक्ष कल्पना भट्टले बताइन् । बैतडीका १३ मध्ये दुई बच्चा जन्माएका आमा छन् । पाँच वर्षको अवधिमा ९६ जना महिला उपचारपछि निको भएर घर फर्किएको पनि उनले बताइन् । 

बैतडीमा बढ्दो समस्या

बैतडीमा मात्र गत वर्ष र यस वर्ष गरेर २७ जना महिला बलात्कृत भएको उजुरी परेर मुद्दा चलेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । तर सामाजिक प्रतिष्ठामा आँच पुग्ने डरले कतिपय बलात्कारका घटना प्रहरीसम्म पुग्ने गरेका छैनन् । तीमध्ये मानसिक रोगी भएका महिला बलात्कृत भएर बच्चा जन्मिदासमेत उजुरी नपर्दा बलात्कारी लुकेर बसेको पाइएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार बैतडीमा तीन सयभन्दा बढी मानसिक रोगी छन् । मानसिक उपचारका लागि शिविर सञ्चालन गर्दा तीन सय जना उपचार गर्न आएकाले यो सङ्ख्या आधिकारिक मान्न सकिने भट्ट बताउछन् । “मानसिक रोगीको उपचार गर्ने स्वास्थ्य संस्था र चिकित्सक नहुँदा स्वास्थ्य कार्यालयले विशेषज्ञ डाक्टर बोलाएर शिविरमार्फत मानसिक रोगीको जाँच हुने गरेको छ,” 

स्वास्थ्य प्रमुख भट्टले भने, “तर गाउँमा अहिले पनि धामीझाँक्रीले झारफुक गरेर मानसिक रोग ठीक हुन्छ भन्ने अन्धविश्वास छ ।”

धामीझाँक्रीको भर पर्दा मानसिक समस्या झन् बढ्ने भएकाले उपचार गराएको खण्डमा मानसिक रोग निको हुने स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । चार वर्षदेखि फलामको साङ्लोमा बाँधिएकी बैतडीको मेलौलीकी एक महिलाको उद्धार गरेर उपचार गर्दा अहिले सामान्य अवस्थामा फर्किएको भट्टले बताए । 

बैतडीमा मानसिक रोगीको सङ्ख्या बढ्न थालेपछि जिल्लाका १० स्थानीय तहले एउटा स्वास्थ्य संस्थामा मानसिक रोगीको नियमित उपचार गर्नेगरी स्वास्थ्यकर्मीको व्यवस्था गर्न स्वास्थ्य कार्यालय बैतडीलाई सुझाव दिएको छ । 

प्रतिक्रिया दिनुहोस