
काठमाडौं । सन् २०२२ को पहिलो ६ महिना (जनवरी–जुन) मा २ लाख ३७ हजार ८ सय १३ जना विदेशी पर्यटक नेपाल घुम्न आएका छन् ।
अध्यागमन विभागका अनुसार गत महिना जुनमा ४६ हजार ९ सय ५७ पर्यटक नेपाल आएका छन् । सन् २०२२ को सुरुबाट नै पर्यटक आगमनदरमा सुधार हुँदै गएको थियो । पहिलो महिना जनवरीमा करिब १७ हजार पर्यटक घुम्नका लागि नेपाल आएका थिए । दोश्रो महिना फेब्रुअरीमा २० हजार, मार्चमा ४२ हजार, अप्रिलमा ५८ हजार, मेमा ५३ हजार र जुनमा करिब ४७ हजार पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका छन् ।
कोभिड–१९ को महामारीका कारण सुस्ताएको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किने क्रममा रहेको छ । कोभिड–१९ कारण विगत २ वर्षदेखि सुस्ताएको पर्यटन क्षेत्र पछिल्लो समय पर्यटन आगमनमा वृद्धि भएसँगै लयमा फिर्ता हुने क्रममा रहेको छ । सन् २०२० को अन्त्यमा फैलिएको कोभिड–१९ कारण पछिल्लो समय पर्यटक आगमनमा गिरावट आएको थियो । सन् २०२२ देखि नेपालमा पर्यटक आगमनमा सुधार हँदै आएको छ । पछिल्लो ६ महिनाको तथ्यांक हेर्ने हो भने पहिलोमा भारतबाट २३ हजार २ सय ४८, दोश्रोमा अमेरिकाबाट ८ हजार ३ सय ५१, तेश्रोमा बेलायतबाट, २ हजार जना चौथोमा, अष्ट्रेलियाबाट १ हजार ४ सय ८२ जनाले नेपाल भ्रमण गरेका छन् । बंगलादेशबाट २ हजार ५९ पर्यटन नेपाल आएका थिए ।
पछिल्लो समय बंगलादेशबाट आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । मार्चमा बंगलादेशबाट २ हजार १ सय ५२ पर्यटन नेपाल आएका थिए । मे महिनामा सार्कबाट ३० हजार ५ सय ६०, आसियानबाट २ हजार २ सय ३०, युरोपबाट ६ हजार ८ सय, अमेरिकन रिजनबाट ४ हजार १ सय पर्यटककले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
पछिल्लो समय नेपाल भ्रमणको लागि आउने पर्यटकमा भारतीय हिस्सा सबैभन्दा बढी छ । मे महिनामा २६ हजार ६ सय ६२ जना भारतीयले नेपाल भ्रमण गरेका थिए । भिसा लाउन नपर्ने, क्वारेन्टाइन बस्नु नपर्ने जस्ता सुविधाका कारण पछिल्लो समय भारतीय पर्यटकको नेपाल आगमनमा वृद्धि हुदै गएको छ तर जुनमा भने आगमन दरमा कमि आएको छ । हवाई मार्गबाट मात्र आएको पर्यटकको संख्या भएकाले गर्दा भारतीय पर्यटकको आगमनदर कम रहेको जनाइएको छ । दक्षिण एसियामा भारतीय पर्यटकपछि सबैभन्दा बढी पर्यटक आउने देशमा भने बंगलादेश रहेको छ । बोर्डको तथ्यांक अनुसार मे महिनामा ३ हजार २ सय ६८ जना बंगलादेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । मे महिनामा बेलायतबाट २ हजार ४ सय ५१ जना पर्यटक नेपाल आएका थिए । समग्र युरोप महादेशबाट मे महिनाभरिमा ६ हजार ८ सय ९५ जना पर्यटक नेपाल आएका थिए ।
कुन महिनामा कति पर्यटक ?
जनवरी १७ हजार
फेब्रुअरी २० हजार
मार्च ४२ हजार
अप्रिल ५८ हजार
मे ५३ हजार
जुन ४६ हजार
प्रतिक्रिया दिनुहोस