
सेवा प्रवेश र बढुवामा किर्ते गर्ने सैनिक अधिकारीविरुद्ध जंगीअड्डाले कठोर नीति लिएको छ। जागिर खान नक्कली प्रमाणपत्र पेस र माथिल्लो पदसम्म पुग्न नागरिकता किर्ते गर्नेहरू कडा सजायको भागीदार हुने भएका छन्।
प्रधानसेनापति पूर्णचन्द्र थापाको निर्देशनमा जंगीअड्डाले यसबारे लामो समयदेखि सूक्ष्म छानबिन गरिरहेको छ। यस सम्बन्धमा दोषी ठहरिएकालाई भविष्यमा सरकारी सेवामा योग्य नहुनेदेखि जेल हाल्नेसम्मको सजाय दिने तयारी छ। अहिलेसम्म भने सैनिक अधिकारीको आत्मसम्मानमा ठेस नपुग्ने गरी अवकाशमा जाने नीति लिँदै आएको देखिएको छ।
किर्ते गरी उमेर सच्याउनेले राजीनामा दिएर सेवाबाट बिदा हुने अवसर प्रयोग नगरे उनीहरूले कठोर सजाय भोग्नुपर्नेछ। उनीहरूलाई भ्रष्टाचार, सैनिक आचरण र नैतिकतासमेतको अभियोगमा कसुरको गाम्भीर्य र दर्जाबमोजिम जेल चलानसम्मको तयारीमा सैनिक नेतृत्व पुगेको स्रोतले बताएको छ।
प्रतिक्रिया दिनुहोस