aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

लुम्बिनीमा शुरु भयो दान गणनाको काम

  • पुनहरि बेल्बासे
    पुनहरि बेल्बासे
  • आइतबार, १९ असार २०७९
लुम्बिनीमा शुरु भयो दान गणनाको काम

भैरहवा । लुम्बिनी विकास कोषले आजदेखि ४ दिनसम्म मायादेवी परिसरमा संकलन भएको दान गणना गर्न सुरु गरेको छ । लुम्बिनी भ्रमणमा आउने पर्यटकले दान गरेको दानलाई जम्मा गरेर गणना गर्न सुरु गरिएको हो । मायादेवी मन्दिर परिसरमा राखिएका ४ ओटा बाकस भरिएकोले पैसा गणना गरी बैंक दाखिला गर्नको लागि गणना सुरु गरेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले जानकारी दिए । 

मायादेवी मन्दिर परिसरमा राखेका बाकसहरु भरिएको र बर्षायाममा पैसामा ढुसि लागेर बिग्रने भएकोले व्यवस्थित गर्नको लागि गणना गर्न लागेको बताउँदै दाताको भेटि दुरुपयोग हुनबाट रोक्नको लागि सिसिटिभीको निगरानीमा राखी नेपाल प्रहरी, शसस्त्र प्रहरी विकासकोषका कर्मचारीको रोहबरमा गणना हुने र बैंकमा दाखिला गर्ने गरेको कोषाध्यक्ष भट्टराईले बताए । उनी भन्छन्– “विगतका वर्षहरुमा हरेक १५/१५ दिनमा गणना गरिने भेटी कोभिड १९ का कारण पर्यटकमा कमि आएकोले गत चैत महिनामा गनिएको भेटी असारमा आएर गणना गरिएको छ ।”

आन्तरिक तथा बाह्य पर्यटकले चढाएको दानलाई व्यवस्थित गर्दै सुरक्षा साथ राखिएको र बाकस भरिएकोले सुरक्षाकर्मी विकास कोषका पदाधिकारीको रोहबरमा मुचुल्का गरी मायादेवी मन्दिर परिसरबाट उठाइने र गणना स्थलमा पु¥याइ गन्ने र बैंक दाखिला गर्ने गरेको लुम्बिनी विकास कोषका सुरक्षा अधिकृत खगेन्द्र काफ्लेले बताए ।

पर्यटकले लुम्बिनी भ्रमणका क्रममा दान गरेको पैसाबाट लुम्बिनी विकास कोषका करार तथा ज्यालादारी कर्मचारीलाई तलब दिने गरेको छ । मायादेवी मन्दिर परिसरमा जम्मा भएको दान लुम्बिनी विकास कोषका कोषाध्यक्षको संयोजकत्वमा गणना गरिने र बैंक दाखिला गर्ने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस