aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

पर्यटन प्रवद्र्धनमा परेनन् बोलबम यात्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ साउन २०७६
पर्यटन प्रवद्र्धनमा परेनन् बोलबम यात्री

काठमाडौँ । महादेवको प्रिय महिना साउनको अन्तिम सोमबार अर्थात् साउन २७ गते भगवान् शिवप्रति जल अर्पण गरेर यो वर्षका बोलबम यात्रा समापन हुँदैछ । यो पल्ट साउनको चारै सोमबारमा बोलबम यात्रीको उल्लेख्य सहभागिता रहे पनि सरकारले पर्यटन प्रवद्र्धनका लागि बोलबम यात्रालाई नसमेटेको गुनासो छ । आगामी वर्ष नेपालले पर्यटन वर्ष मनाउँदै गरेको सन्दर्भमा जसरी प्रचार प्रसार हुनुपथ्र्यो, त्यसरी हुन सकेन । 
नेपाल पर्यटन बोर्डका निर्देशक आदित्य बराल भन्नुहुन्छ, ‘बोलबम यात्राको उद्देश्य वा यसका आवश्यकताबारे आयोजकले बोर्डमा सम्पर्क गरेकै छैनन् । बरालका अनुसार, महाशिवरात्रि, बोलबमलगायत यात्रा पनि पर्यटन वर्ष र पर्यटन प्रवद्र्धनमा नसमेटिने कुरै छैन तर आयोजकले यसबारे बोर्डलाइ सूचित गर्दैनन् । 
बौद्ध प्रहरी प्रभागका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार, हरेक सोमबार करिब ६० हजार यात्रीको सुन्दरीजलमा आगमन भएको छ र त्यसमा अधिकांश भारतबाट आउने बोलबम यात्री छन् । यात्रामा सुन्दरीजलबाट ल्याइएको जल पशुपतिनाथमा चढाउने गरिन्छ । आइतबार साँझ यसै हाराहारीमा उपत्यकाका विभिन्न स्थानबाट बोलबम यात्रा सुन्दरीजल पुगेका छन् । 
बोलबम उपसमिति काँडाघारीबाट तपिन्द्र ठाकुर, जडीबुटीबाट बलराम ठाकुर, मिलिजुली चोकबाट मिथिलेश ठाकुर, बालाजुबाट राजकुमार गुप्ता, बुद्धनगरबाट बजरङ्ग यादव, असनबाट आनन्दीलालप्रसाद, नयाँ बजारबाट मनोज ठाकुरको संयोजनमा बोलबम यात्री सुन्दरीजल पुगेका छन् । 
यसैगरी, सात दोबाटोबाट प्रमोद कुशवाह, इमाडोलबाट रामपुकार ठाकुर, बालुवाखानीबाट जोगिन्द्रप्रसाद, भक्तपुर च्याम्हासिंबाट शम्भु ठाकुर संयोजक रहेका टोली पैदलै सुन्दरीजल आएका छन् । उपत्यकाका विभिन्न १८ स्थानबाट बोलबम यात्री सुन्दरीजल पुगेका हुन् । 
यसमा सयौँ सङ्ख्यामा भारत मुजफ्फरपुर, मोतिहारी, सीतामढी र डङ्कनबाट आएका भारतीय तीर्थयात्री पनि छन् । यी यात्री उपत्यकाका कवाडखाना, धर्मशाला, लज, सब्जीमण्डीको आश्रयमा रहेका थिए । 
ओम् बोलबम कावँरिया सङ्घका सचिव सञ्जीवप्रसाद कुशवाहका अनुसार यो यात्रालाई पर्यटन प्रवद्र्धन गर्नेतर्फ कसैले चासो दिएको छैन । कुशवाहका अनुसार १९ वर्षदेखि यो यात्रा यात्रीको आफ्नै लगन र सहभागितामा चलिरहेको छ । 
सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरिएसँगै २० लाख पर्यटक भिœयाउने योजना सरकारको छ तर बोलबम, महाशिवरात्रि लगायतका पर्वमा भित्रिनेहरूलाई यसमा कसरी समेटिन्छन् भन्ने जानकारी आउन सकेको छैन । संस्कृतिविद् डा। साफल्य अमात्य भन्नुहुन्छ, ‘‘डलर आय हुने पर्यटकबाहेकका पर्यटकलाई पनि अबका पर्यटन वर्षमा समेट्नु आवश्यक छ । ’’
आइतबार साउन २६ गते भोलेनाथ कावँरिया सङ्घ र ओम् बोलबम कावँरिया सङ्घले बोलबम यात्रा आयोजना गरेका थिए । 
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले यात्रीका लागि सोमबार बिहान ३ः३० बजेदेखि राति अबेरसम्म पशुपतिनाथको ढोका खुला नै रहने व्यवस्था कोषले गरेको बताउनुभएको छ । बोलबम यात्रीले सहज रूपमा जल अर्पण गर्न सक्ने व्यवस्था मन्दिरका चारै ढोकामा भएको नाथका कोटवाल पूर्णनारायण जोशीले जानकारी दिनुभयो । 
भारत झारखण्डस्थित वैद्यनाथधामबाट सुरु भएको यो यात्रा २० वर्षअघि चावहिलका छोटुलाल शाहले पशुपतिनाथमा पनि चलाउनुभएको थियो । पछि ओम् बोलबम् र भोलेनाथ बोलबम कावँरियाले निरन्तर यो यात्रा चलाउँदै आएको छ । बोलबम यात्रामा सहभागी र अवलोकनकर्ता सबैलाई पशुपतिमा जल अर्पणपछि निःशुल्क भोजन व्यवस्था गरिएको अध्यक्ष सुनिल ठाकुरले जानकारी दिनुभयो । 
यसैगरी अमालकोट कचहरीको खञ्जनेश्वर, सुनाकोठीको भृङ्गारेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, फर्पिङ्को गोभ्रातेश्वर, महोत्तरीको जलेश्वर, पर्साको पारसनाथ, पनौतीको भालेश्वर, डडेल्धुराको भाग्येश्वर, सप्तरीको भजनेश्वर, कैलालीको बेडाबाबा, रूपन्देहीको मनौरी महादेव, सिन्धुलीको कुशेश्वर लगायतमा पनि बोलबम यात्रा विसर्जन हुँदैछ । 
सिद्धिचरण चोक दफ्तर क्लबका अध्यक्ष राकेश शाहीका अनुसार मखन महादेव यस आसपासका सन्तानेश्वर महादेवमा पनि यो दिन भव्य पूजन हुँदैछ । एकथरी भक्तजन पशुपतिको आर्यघाटस्थित कामेश्वर महादेवमा सशक्त कामवासनाको कामना गर्दै छन् । यस्तै, जयवागेश्वरीको महामृत्यञ्जयमा सिकिस्त बिरामीबाट मुक्तिको कामना गर्दै आफन्तजनले साउनको सोमबार मनाइरहेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस