
दाङको बंगलाचुली गाउँपालिकाको गाडीमा शनिबार राति आगजनी भयो। गाउँपालिकाको वडा नम्बर ५ मुर्कुटीस्थित वडा कार्यालयमा पार्किङ गरेर राखेको रा१झ १५२ नम्बरको उक्त जिपमा राति पौने एक बजेतिर आगो लागेको थियो।
उक्त गाडी गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओलीले प्रयोग गर्थे। प्रहरीका अनुसार २३ लाख रकम पर्ने उक्त सरकारी गाडी आगजनीबाट पूर्ण क्षतिग्रस्त छ। गाडीमा आगो कसले लगायो, खुल्न सकेको छैन। प्रहरी भन्छ, ‘अनुसन्धान भइरहेको छ। ’
कपिलवस्तुको मायादेवी गाउँपालिकाका अध्यक्ष चढ्ने स्कारपियो गाडीमा पनि सोही राति आगजनी भयो। गाउँपालिका अध्यक्ष बजरंगी चौधरी चढ्दै आएको लु१झ ४०० नम्बरको जिप आगजनीबाट पूर्णरुपमा नष्ट भएको छ।
तौलिहवास्थित भाडाको निवासअगाडि पार्किङ गरेर राखेको जिपमा राति साढे १० बजेतिर आगजनी भएको थियो। यो घटनामा पनि दोषीबारे खुल्न सकेको छैन। आगो कपिलवस्तु नगरपालिकाको दमकलले नियन्त्रणमा निभाएको थियो। प्रहरीका अनुसार यो गाडीको मूल्य ५० लाख पर्छ।
५ नम्बर प्रदेशका दुई गाउँपालिकामा एकै दिन भएका यी दुई घटनाले यो प्रदेशका स्थानीय तहको सुरक्षा चुनौतीलाई उजागर गरेका छन्। यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस