aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

बाढीले बिगार्‍यो ४५ वटा पुल, आधा अर्ब बराबरको क्षति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ साउन २०७६
बाढीले बिगार्‍यो ४५ वटा पुल, आधा अर्ब बराबरको क्षति

हालैको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका ४५ वटा पुलमा क्षति पुगेको छ भने आधा अर्बबराबरको क्षति भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बाढी पहिरोका कारण देशभर ४५ वटा पुलमा क्षति पुगेको र तिनको पुनर्निर्माण गर्न ४७ करोड ३४ लाख बजेट आवश्यक पर्ने अनुमान गरिएको बताए ।
संसद्को विकास समितिको आइतबारको बैठकमा मन्त्री महासेठले समिति सदस्यहरूलाई यस्तो जानकारी दिएका हुन् ।
मन्त्री महासेठका अनुसार सडक डिभिजन खुर्कोटअन्तर्गत पाँच वटा पुलमा क्षति पुगेको छ भने तीनको मर्मतमा ४७ लाख खर्च हुने अनुमान छ ।
सडक डिभिजन विराटनगरअन्तर्गत तीन वटा पुलमा क्षति पुगेको छ । ती पुलको मर्मतमा १ करोड २५ लाख खर्च हुने अनुमान छ ।

सडक डिभिजन जनकपुरमा पाँच वटा पुलमा क्षति पुगेको छ भने पुनर्निर्माणका लागि २ करोड ९० लाख लाग्ने अनुमान गरिएको छ । सडक डिभिजन लहानअन्तर्गत ६ वटा पुलमा क्षति पुगेको छ भने पुनर्निर्माणका लागि १ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।
यस्तै, उत्तर–दक्षिण व्यापारिक मार्गअन्तर्गत एउटा पुलमा क्षति पुगेको छ भने पुनर्निर्माणका लागि ५० लाखको खर्च अनुमान छ ।
सडक डिभिजन हेटौंडामा ३, सडक डिभिजन नेपालगन्जमा ३, मध्यपहाडी लोकमार्ग आयोजनामा २ र सडक डिभिजन झापामा ७ वटा पुलमा क्षति पुगेको छ ।
ती पुलको पुनर्निर्माणका लागि २ करोड १ लाख, ३ करोड, १ करोड २० लाख र २ करोड २५ लाख खर्च हुने मन्त्रालयले अनुमान गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस