aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

१५ करोड कुम्ल्याएर ब्यापारी फरार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ साउन २०७६
१५ करोड कुम्ल्याएर ब्यापारी फरार

जग्गा उपलब्ध गराउने र उद्योग खोलेर सेयर दिने भन्दै सर्वसाधारणसँग करोडौं रुपैयाँ कुम्ल्याएर मोरङको बेलबारीबाट सुनचाँदी एवं हार्डवेयर व्यापारी सम्पर्कविहीन बनेका छन्। एक महिनादेखि बेलबारी नगरपालिका–१ का व्यवसायी घनश्याम श्रेष्ठ बेपत्ता बनेपछि सर्वसाधारणको १५ करोड रुपैयाँभन्दा बढी रकम जोखिममा परेको छ। जग्गा कारोबारीसमेत रहेका उनी बेलबारीको ॐ कृष्ण सुनचाँदी पसलका सञ्चालक हुन्।

बेलबारी–३ मा ॐ कृष्ण ट्रेडर्स नाम दिएर सञ्चालन गरिएको श्रेष्ठको हार्डवेयर पसल पनि छ। दुई वर्षदेखि उनले एक जनासँग ५० हजारदेखि ४२ लाख रुपैयाँसम्म उठाएको खुलेको छ। पीडितले लामो समयसम्म जग्गा नदिएको र कुनै उद्योग धन्दासमेत सञ्चालन नगरेपछि श्रेष्ठबाट आफू ठगिएको थाहा भएको बताए। ठगिएको थाहा पाएर पैसा माग्न जाँदा एक महिनादेखि उनी सम्पर्कविहीन बनेको पीडितको गुनासो छ।

पीडितले श्रेष्ठलाई सम्पर्कमा ल्याई गुमेको पैसा फिर्ताका लागि पहल गरिदिन आग्रह गर्दै प्रस्तावित उद्योग वाणिज्य संघ बेलबारीमा निवेदनसमेत दिएका छन्। दुई सय बढीले आफू पीडित भएको भन्दै निवेदन दिएका हुन्। संघका उपाध्यक्ष केदार अधिकारीले छलफलमा पटक–पटक बोलाए पनि श्रेष्ठ नआएको र पछि सम्पर्कविहीन बनेको बताए। ‘ श्रेष्ठबाट ठगिएको भन्दै आउनेको संख्या ठूलो छ’, उनले भने, ‘दिनप्रतिदिन यो संख्या बढिरहेको छ।’ यो समाचार आजको अन्नपुर्ण पोष्टमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस