
दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका–२ दम्लिङस्थित गोठालघाटबाट तुइनमा झुन्डिएर महाकाली नदी पार गर्ने क्रममा खसेर बेपत्ता भएका १८ वर्षीय सचिन बुढाथोकीको अवस्था खुल्न सकेको छैन । उनी भारत गर्वाधारबाट तुइनमा सामान लिएर व्याँस–२ स्थित घरतर्फ आउने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका हुन् । यो घटना बुधबारको हो ।
बेपत्ता बुढाथोकीको खोजी कार्य जारी छ । पुल नहुँदा दार्चुलाको उत्तरी क्षेत्रका बासिन्दा जोखिम मोलेर तुइनको भरमा महाकाली वारपार गर्छन् । महाकाली नदी वारपार गर्ने क्रममा तुइनबाट खसेर वा तुइन चँडिएर ज्यान गुमाउने र बेपत्ता हुने क्रम रोक्न पुल बनाउनुपर्छ ।
अघिल्लो वर्षको साउन १५ गते तुइनबाट महाकाली नदी तर्ने क्रममा खसेर व्याँस–२ मालका ३३ वर्षीय जयसिंह धामी बेपत्ता भएका थिए । प्रत्यक्षदर्शीका अनुसार भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइनको डोरी काटिदिएपछि धामी नदीमा खसेर बेपत्ता भएका हुन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दिएको तथ्यांकअनुसार तुइनबाट महाकाली वारपार गर्ने क्रममा १५ जनाले ज्यान गुमाएका छन् । यो तथ्यांक २०७२ असारयताको हो । यस्तै दर्जनभन्दा बढी मानिस बेपत्ता भएका छन् । व्याँस क्षेत्रका बासिन्दाका अनुसार २०५० सालयता तुइनबाट महाकालीमा खसेर २६ जनाको ज्यान गएको छ । तर आधिकारिक निकायबाट स्थानीय बासिन्दाको दाबी पुष्टि हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस