aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

सुपारी तस्करीको विषयलाई लिएर सशस्त्र र नेपाल प्रहरीबीच विवाद, सुपारी गायव

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • शुक्रबार, २४ असार २०७९
सुपारी तस्करीको विषयलाई लिएर सशस्त्र र नेपाल प्रहरीबीच विवाद, सुपारी गायव

काठमाडौं । सुपारी तस्करीको विषयलाई लिएर नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच विवाद भएको छ । विवादका कारण बुधबार राति काँकडभिट्टा भन्सार कार्यालयमा दुबै फौजबीच झडपसमेत भएको थियो ।

सुरुमा नेपाल प्रहरीले सुपारी तस्करी गर्न सेटिङ मिलाएको थियो । प्रहरीसँगको सेटिङमा करिब १५० जनाले बोरामा सुपारी बोकेर भारततर्फ कुद्न थालेका थिए। सुपारी बोकेर भारततर्फ कुद्न थालेको समूहलाई सशस्त्र प्रहरीले रोक्ने क्रममा ड्युटीमा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच भनाभन हुँदा झडप भएको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी एकआपसमा झडप गर्न थालेपछि बोरामा सुपारी बोकेका धेरैजसो तस्करहरु भारततर्फ प्रवेश गरेको र केहीको सुपारी प्रहरीले बरामद गरेको एक प्रत्यक्षदर्शीले बताए ।

काँकडभिट्टामा रातिको समयमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कर्मचारीहरुको मिलेमतोमा सुपारीलगायतका सामान तस्करी हुने गरेको छ । स्रोतकाअनुसार सुपारी तस्करी गराइदिए वापतको रकमको भागभण्डा नमिलेका कारण दुबैतर्फ विवाद भएको हो । प्रहरीतर्फ यस्तो विवाद हुँदासमेत भन्सारमा पुर्‍याएको सुपारी भने बरामद गरिएको छैन । सुपारी तस्करीको विषय बाहिर आएपश्चात नेपाल प्रहरी र सशस्त्र प्रहरीले यसको ढाकछोप गर्ने प्रयास गरेका छन् । दुबै प्रहरीले सुपारी तस्करीका विषयमा भएको विवादमा कुनै सत्यता नभएको बिहीबार विज्ञप्ति निकालेर जनाएका छन् ।

काँकडभिट्टामा भएको घटनाका बारेमा प्रदेश १ सशस्त्र प्रहरी प्रमुख कमल गिरीले नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच अन्जानमा सामान्य विवादमात्र भएको स्वीकार गरेका छन् । सशस्त्र प्रहरी बल झापाका प्रमुख प्रदीप कार्कीले एक महिलाले बोरामा सुपारी लिएर भारततर्फ जाँदै गरेको र सादा पोशाकमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच एकआपसमा नचिनेका कारण विवाद भएको बताए । उनले थोरै मात्रामा रहेको उक्त सुपारी बोरा तान्ने क्रममा छरिएर पानीमा डुबेको बताए ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले भने बाहिर फिजाइएको हल्ला गलत भएको बताए । उनले बुधबार बरामद गरिएको सुपारी भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको बताए ।

काँकडभिट्टा भन्सार कार्यालयमा भएको घटना बुझ्न भन्सार प्रमुख केशवराज ओलीलाई फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहोस