काठमाडौं । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले आठौं महाधिवेशन भएको सात महिनासम्म पदाधिकारी चयन गर्न सकेका छैनन्। काठमाडौंमा तीन दिनसम्म चलेको केन्द्रीय समिति बैठकमा पोलिटब्युरो सदस्यको नाम प्रस्ताव गरे पनि विवादका कारण टुंगो लगाउन सकेन। दाहालले बिहीबारको बैठकमा पोलिटब्युरोका लागि तीनपटक गरी १ सय ५६ जनाको नाम प्रस्ताव गरेका थिए। तर, सहभागीले विरोध जनाएका हुन्।
नेता गिरिराजमणि पोखरेलले भने केन्द्रीय समिति बैठक सम्पन्न भएको उल्लेख गर्दै पोलिटब्युरो र स्थायी समिति बनेको बताए। नाम टुंगिएको हो कि होइन भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘यो केन्द्रीय समिति बैठकबाट टुंगियो भनेर बुझ्नुपर्छ। व्यक्तिहरू र कतिपय व्यावहारिक कुरा मात्र टुंग्याउने जिम्मेवारी (अध्यक्षलाई) हो।’ केही दिनभित्रै पदाधिकारी पनि चयन हुने जानकारी नेता पोखरेलले दिए।
दाहालले पोलिटब्युरोका लागि सुरुमा १ सय २५ जनाको नाम भन्दा ‘सिनियर’ नेता छुटेको भन्दै अरूले विरोध गरे। दाहालले त्यसबेला आफू कार्यव्यस्तताले अल्मलिएको भन्दै दोस्रो पल्ट नाम सच्याएर पढे। केन्द्रीय सदस्यहरूले त्यसमा छनोटको आधार स्पष्ट नभएको भन्दै विरोध जनाए। त्यसपछि एक घण्टा बैठक रोकेर पूर्वस्थायी समिति सदस्यहरूसँग बैठक गरे। विवाद सुल्झाउन ३१ जनाको नाम वैकल्पिक पोलिटब्युरो सदस्य भनेर थपियो। तर, १ सय ५६ जनामा को पूर्ण सदस्य र को वैकल्पिक भनेर टुंगो नलगाएपछि कार्यकर्ता निराश बनेका छन्। बैठकले संख्या पारित गरे पनि नामको टुंगो नलागेको हो।
‘अब १ सय ५६ सदस्यीय पोलिटब्युरो बन्यो। १ सय २५ जनासहितको मूल पोलिटब्युरो हुन्छ। ३१ जनाको नाम मैले वैकल्पिक पोलिटब्युरोका लागि प्रस्ताव गरेको छ्ु’, दाहालले बैठकमा भने, ‘को को पोलिटब्युरो र को को वैकल्पिक पोलिटब्युरोमा पर्नुभयो रु अब विस्तारै पार्टी सर्कुलरबाट जानकारी गराउँछौं।’
गृहकार्य नपुगेकोले दुई–चार दिनमै सबैलाई खुसी हुने गरी निर्णय हुने दाहालले बताए। ‘समावेशिता, क्षेत्रीयता, भूगोल समेटेर मूल पोलिटब्युरो गठन हुन्छ’, उनले भने, ‘प्लिज साथीहरू मलाई दुई–चार दिनको समय दिनुस्। म सबैलाई खुसी बनाउँछु।’
दाहाल परिवारका तीन सदस्य प्रस्तावित
दाहालले प्रस्ताव गरेको पोलिटब्युरो सदस्यको सूचीमा उनका छोरी रेनु दाहाल, बुहारी बिना मगर र भाइ नारायण दाहाल समेटिएका छन्। यसअघि नै परिवारका सदस्यलाई केन्द्रीय सदस्य बनाएपछि नेता कार्यकर्ताले दाहालको विरोध गरेका थिए। नेता गिरिराजमणि पोखरेलले केन्द्र र प्रदेशका कतिपय नेता छुटेकाले वैकल्पिक पोलिटब्युरो सदस्य थपिएको बताए। ‘कतिपय सिनियर साथीहरू छुट्नुभयो। कोही प्रदेशकै छुट्नुभयो। त्यसैले नै वैकल्पिक पोलिटब्युरो सदस्यतिर लैजाने कुरा भएको हो’, पोखरेलले भने।
श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र महरा उपाध्यक्षमा प्रस्तावित
पार्टी प्रवक्ता कृष्णबहादुर महराका अनुसार ४१ सदस्य स्थायी समितिमा १५ जना नेताको नाम बैठकबाट पारित भएको छ। दाहालले वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा महराको नाम बैठकमा प्रस्ताव गरेका थिए। अरू सदस्यको नाम विस्तारै स्थायी समिति बैठकले थप्ने नेता महराले जनाए।
१५ सदस्यीय पदाधिकारीलाई पूर्णता दिन पनि बैठकले सकेन। प्रदेशका इन्चार्ज र संयोजकले स्थानीय निर्वाचनमा पार्टीका नेतृत्व तहका नेताहरूले अन्तरघात गरेको प्रतिवेदन पेस गरेपछि दाहालले पदाधिकारीलाई पूर्णता दिन नसकेका हुन्।
पार्टीको घात, अन्तर्घात र नेतृत्वमाथि प्रश्न उठेकाले छानबिन गरेर पदाधिकारी टुंग्याइने दाहालले बताए। यसका लागि अनुशासन आयोगका अध्यक्ष टंक राईको नेतृत्वमा छानबिन समिति गठन गर्ने निर्णय भएको छ। समितिले स्थानीय चुनावमा प्रदेशबाट आएको अन्तर्घातको रिपोर्टमा छानबिन गर्ने जनाइएको छ।
‘मसँग पदाधिकारीको नामको सूची छ। तर, अहिले प्रस्ताव गर्दा उचित हुँदैन’, दाहालले भने, ‘सिनियर लिडरहरूमाथि स्थानीय चुनावमा अन्तरघात गरेको रिपोर्टिङ प्रदेशहरूबाट भएको छ।’
महाधिवेशनलगत्तै केन्द्रीय समिति बैठकबाट दाहाल अध्यक्ष भएका थिए। तर, अरू पदाधिकारी चयन गर्न भने उनले नसकेका हुन्। ‘पार्टीलाई समावेशी बनाउन खोज्दा पूर्णता दिन ढिलाइ भयो’, नेता पोखरेलले भने, पुराना नेताहरूलाई हेर्नुपर्ने र केही नयाँ पनि छनोट गर्नुपर्ने भएको समय लाग्यो।
यो ढंगले कुनै पार्टीले अभ्यास गरेको छैन।’ दाहालले पार्टीले छिट्टै विशेष महाधिवेशन गर्ने बताएका छन्। केन्द्रीय समिति बैठकमा उठेको प्रश्नको जवाफ दिँदै उनले पार्टी सुदृढीकरण र राजनीतिक विकृति अन्त्य गर्न प्रदेश र संघको निर्वाचनपछि विशेष महाधिवेशन गर्न लागेको बताएका हुन्। विकृति र विसंगतिका बारेमा बोल्न सक्ने माओवादी पार्टी मात्र रहेको दाबी उनले गरे।
‘गभर्नर प्रकरणमै राजीनामा दिनुपथ्र्यो’
माओवादी नेताहरूले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले गभर्नर प्रकरणमै राजीनामा दिनुपर्नेमा ढिलो गरेको बताएका छन्। केही नेताले काखी च्यापेका कारण बजेट निर्माणमा उनले बिचौलिया प्रयोग गर्न भ्याएको एक नेताले बताए। ती नेताले भने, ‘ऊर्जा मन्त्रालयको नेतृत्व गरेर हाईहाई भए। अर्थ मन्त्रालयको नेतृत्व गर्दा बिचौलिया पालेर आफ्नो विश्वास गुमाए अनि पार्टीको गरिमालाई भड्खालोमा पारे।’
शर्माले भने एसपीपीमा एमालेले गरेको राष्ट्रघात छोप्न लोकप्रिय बजेटमा हमला गरेको आरोप लगाए। बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश र व्यापारिक घरानाको स्वार्थमा करका दर हेरफेर प्रकरणमा उनले बुधबार राजीनामा दिएका थिए। उनीमाथि छानविन गर्न संसदीय छानबिन विशेष समिति गठन गरिएको छ।
केन्द्रीय सदस्यहरूले बजेट निर्माणमा भएको अनियमितता र राजीनामाबारे राखेको जिज्ञासामा शर्माले जवाफ दिँदै बजेटमा सिंगो पार्टीप्रति नै प्रहार गरिएको बताए। साधन, प्रविधि र पुँजीलाई जोडेर ल्याएको बजेटले सामाजिक न्याय स्थापित गर्ने उनले जिकिर गरे। ‘लोकप्रिय बजेट ल्याएका कारण प्रतिपक्षी एमालेले हमला गरेको छ। बजेटको लोकप्रियताबाट विपक्षी डराएको छ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस